दाङ । भूमि सुधार तथा मालपोत कार्यालय घोराहीको सेवा अनिश्चित भएको छ । जेनजीले गरेको आन्दोलनको क्रममा कार्यालयमा आगजनीबाट सम्पूर्ण सामान जलेर नष्ट भएपछि सेवाप्रवाह अनिश्चित बनेको हो ।
कार्यालयले आज सोमबार एक सूचना जारी गरेर कार्यालयमा रहेको भौतिक संचरना, सर्भर तथा महत्वपूर्ण अभिलेखहरु समेत जलेर नष्ट भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सेवा प्रवाह नहुने जनाएको छ ।
निमित्त प्रमुख नरेश कुमार खड्काले जेनजीको आन्दोलनको क्रममा भएको आगजनीले कार्यालयका सम्पूर्ण कागजात जलेर नष्ट भएको बताउनुभयो । सेवाप्रवाह ठप्प भएपछि सेवाग्राही समस्यामा परेका छन् । मालपोत कार्यालय अन्य कार्यालयको तुलनामा सेवाग्राहीको भिडभाड हुने कार्यालय हो ।
तर आगलागीको पूर्णरुपमा क्षति भएपछि सेवाप्रवाह अनिश्चितकालका लागि रोकिएको छ । तुलसीपुरको मालपोत कार्यालय पनि आगलागीबाट जलेर ध्वस्त भएपछि सेवाप्रवाह अनिश्चितकालका लागि बन्द भएको सूचना अधिकारी शान्तराज गौतमले जानकारी दिनुभयो ।














