दाङ, ३ असोज । संविधान दिवस २०८२ को अवसरमा तुलसीपुर नगर जेसिजले दीप प्रज्वलन कार्यक्रम गरेको छ ।
संविधान दिवसलाई स्मरण गर्दै राष्ट्रिय एकता, लोकतान्त्रिक अभ्यास र नागरिक उत्तरदायित्वलाई अझ सुदृढ बनाउने सन्देश दिनका लागि दिप प्रज्वलन कार्यक्रम गरिएको हो ।
जेसिजका अध्यक्ष सन्दीप भुषालको अध्यक्षता एवं जेसिज वर्ष २०१५ का अध्यक्ष झरेन्द्र खरेल प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथि खरेलले संविधानले दिएको अधिकारको प्रयोग गर्दै युवा पुस्ताले सामाजिक रूपान्तरणमा अगुवाइ गर्नुपर्नेमा बताउनुभयो । उहाँले संविधान दिवसले सबै नेपालीलाई समान अवसर र पहिचान दिलाएको दिन भएकाले यसको महत्वलाई जीवनपद्धतिमा उतार्न आग्रह गर्नुभयो ।
प्रवक्ता सागर न्यौपानेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण महासचिव बुद्धिराज सापकोटाले गर्नुभएको हो ।
यसैगरी, निवर्तमान महासचिव कमलप्रकाश शर्माले जेसिज आस्था पाठ गर्दै संगठनले युवालाई नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र लोकतान्त्रिक अभ्यासमा अघि बढाउने अभियानलाई निरन्तरता दिइरहेको उल्लेख गर्नुभयो ।












