तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–५ जबरपुरमा रहेको नमूना भूह्याँरथान संरक्षण समिति र थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ३ ले दशैं मिलन कार्यक्रम गर्ने भएको छ ।
आज तुलसीपुरमा बसेको बैठकले भूह्याँरथान र थारु कल्याणकारीणी सभाको संयुक्त आयोजनामा दशैं मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
नमूना भूह्याँरथान संरक्षण समितिका अध्यक्ष रामसरण चौधरीको अध्यक्षतामा बैठक बसेको हो । बैठकले असोज ८ गते दशैको शुभकामना आदानप्रदान कार्यक्रम गर्ने निर्णय गरेको छ ।

समितिका अध्यक्ष चौधरीले थारु समुदायको संस्कार, संस्कृति र मौलिक परम्परालाई संरक्षण गर्ने उद्देश्यले प्रत्येक वर्ष थारु कल्याणकारीणी सभा र भूह्याँरथानले विभिन्न कार्यक्रम गदै आएको बताउनुभयो । उहाँका अनुसार कार्यक्रममा दशैको सखिया नाच, बर्कीमार, दशैं सम्बन्धी कार्यपत्र प्रस्तुत गरिनुका साथै विभिन्न कार्यक्रम हुनेछ ।
बैठकमा थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर–३ का अध्यक्ष मोहन चौधरीले थारु समुदायको संस्कार र संस्कृतिलाई संरक्षण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताउनुभयो । यस्तै नमूना भूह्याँरथानका उपाध्यक्ष नारायण चौधरीले कार्यक्रमले थारु समुदायबीच आपसी मेलमिलाप र एकतामा सहयोग पुग्ने बताउनुभयो ।
बैठकमा थारु अगुवा, थारु बुद्धिजीवी, महटवा, स्थानियहरुको सहभागिता रहेको थियो ।










