दाङ । दाङ । आज बडा दशैँको मूख्य दिन अर्थात् विजयादशमी । आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोउल्लासका साथ मनाईँदै छ ।
दशैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि आज बिहान १० बजेर २६ मिनेटमा साइत उत्तम रहेको थियो। अहिले आफन्तजनका टिका थाप्न जानेहरुको चहलपहल बढ्न थालेको छ ।
विजयादशमी आफैंमा शुभ दिन भएकाले आज टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने समितिले जनाएको छ । दशैँ आफन्त, साथीभाई तथा नजिकका व्यक्तिहरूसँग भेटघाट गरेर यो पर्वलाई हर्षोउल्लासपूर्ण तरिकाले मनाउने गरिन्छ ।
घटस्थापना गरिएको पूर्ण कलशबाट अभिषेक गरी नवदुर्गाको प्रसादस्वरूप रातो टीका र जमरा लगाउने वैदिक सनातनी परम्परा छ । केही जाति र सम्प्रदाय विशेषले भने आज सेतो अक्षताको टीका लगाएर पनि विजयादशमी पर्व मनाउने गरेका छन् ।
असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवी शक्तिको विजयका रूपमा बडादशैं पर्व मनाउने परम्परा छ । नौदिनसम्म दशैंघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका आजदेखि पाँच दिनसम्म लगाउने प्रचलन छ ।
पूजाकोठा तथा दशैंघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशीर्वाद थापिन्छ ।


























