चितवन । लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन । शुक्रबार साँझ तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिनभर चले पनि सफल हुन सकेन ।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, शनिबार दिनभर पहिरो पन्छाउने प्रयास भइरहेका बेला फेरि ठूला ढुंगा र लेदो खसेर काम गर्न कठिन भएको हो ।
एक्साभेटरमा क्षति हुने अवस्था देखिएपछि र रातको समयमा जोखिम बढ्ने भएकाले प्रमुख जिल्ला अधिकारीको अनुरोधमा आज बिहानसम्मका लागि स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।
शुक्रबारदेखि पहिरोले अवरुद्ध भएको मुग्लिन नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ ।
अहिले पनि सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख गोविन्द पुरीले जानकारी दिनुभयो ।
विभागले दिएको विवरणअनुसार, शनिबार बिहान ७ :४० बजे पुनः ठूलो पहिरो खस्दा करिब १६० मिटर लम्बाइ, १० मिटर चौडाइ र १६ मिटर उचाइमा सडक ढाकिएको छ । करिब ७० मिटर माथिबाट निरन्तर ढुंगा खसिरहेकाले सडक खुलाउन समय लाग्ने विभागले जनाएको छ ।
















