रोल्पा । रोल्पा सहरी खानेपानी उपभोक्ता संस्थाको सातौँ साधारणसभा गरिएको छ । संस्थाका अध्यक्ष सुमन विकको अध्यक्षता एवं राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले खानेपानी नागरिकको मौलिक अधिकारसँग जोडिएको विषय भए पनि विद्युत् महसुल, मूल्य अभिवृद्धि कर (भ्याट), कर, महँगो ब्याजदर तथा उपभोक्ताको लगानीका कारण आम नागरिकले महँगो दरमा खानेपानीको महसुल तिर्न बाध्य भएको बताउनुभयो ।
उहाँले रोल्पा सहर खानेपानी आयोजनाको डिजाइनमा कमजोरी हुँदा प्राकृतिक रूपमा उपलब्ध पानीका मुहानबाट पानी ल्याउन सकिने अवस्था हुँदाहुँदै लिफ्टिङ प्रणालीमार्फत आयोजना डिजाइन गरिएको बताउनुभयो ।
लिफ्टिङ प्रणालीका कारण आयोजनाको सञ्चालन खर्च महँगो भएको र त्यसको प्रत्यक्ष आर्थिक भार उपभोक्तामा परेको उहाँको भनाइ छ । आयोजनाको डिजाइन तथा संरचनामा देखिएका समस्यालाई सम्बन्धित निकायले पुनरावलोकन गरी आवश्यक पुनर्निर्माण तथा सुधार गर्नुपर्नेमा अध्यक्ष ओलीले जोड दिनुभयो ।
कार्यक्रममा नगर प्रमुख सुरेन्द्र थापाले स्वच्छ र सफा खानेपानी पाउनु नागरिकको मौलिक अधिकार भएको बताउनुभयो । खानेपानी क्षेत्रमा स्थानीय सरकारले मात्र सबै काम गर्न नसक्ने उल्लेख गर्दै उहाँले केन्द्र सरकारका योजना तथा बजेटसँग समन्वय गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले पनि खानेपानीजस्तो आधारभूत सेवा आम नागरिकले सहज रूपमा पाउनुपर्ने बताउँदै खानेपानीको महसुल अनावश्यक रूपमा महँगो बनाउन नहुने धारणा व्यक्त गर्नुभयो । उहाँले खानेपानीको महसुललाई सेवा प्रदान गरेबापत लिइने मूल्यका रूपमा बुझ्नुपर्ने बताउनुभयो ।

त्यसैगरी दाङ हापुरे–पुरन्धारा खानेपानी संस्थाका सचिव तथा राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघ दाङ जिल्ला सदस्य डिल्ली ओलीले आयोजना निर्माण सम्पन्न भएपछि त्यसको पुनर्निर्माण तथा मर्मतसम्भारमा सरकारले पर्याप्त ध्यान नदिनु खानेपानी आयोजनाहरूको प्रमुख समस्यामध्ये एक भएको बताउनुभयो ।
साधारणसभामा संस्थाका कोषाध्यक्षले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन तथा महासचिवले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरिएको थियो ।
सभाको समापन गर्दै संस्थाका अध्यक्ष सुमन विकले संस्थाको सेवा प्रभावकारी बनाउन उपभोक्ता, स्थानीय सरकार तथा सम्बन्धित निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले आगामी दिनमा खानेपानी सेवालाई थप व्यवस्थित, प्रभावकारी र उपभोक्तामैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

























