२०८२ माघ ८ गते बिहिवार

बाँकेको एक गाँउले गर्यो सामूहिक रूपमा खैराबाङ भगवती मन्दिर दर्शन


दाङ । नवरात्रको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिका–२ कचनापुर गाउँका सबै बासिन्दाले सल्यानको प्रसिद्ध खैराबाङ भगवती मन्दिरमा सामूहिक रूपमा दर्शन गरेका छन् ।

हरेक वर्ष विजयादशमीको घटस्थापनादेखि नवरात्रभर विशेष पूजा–आराधना हुने खैराबाङ भगवती मन्दिरमा यसपटक कचनापुर गाउँबाट १ सय ३० जनाको टोली पुगेको हो । दुर्गा सामुदायिक वन उपभोक्ता समूहको नेतृत्वमा पुगेको सो टोलीमा पूर्व कृषि राज्यमन्त्री प्रेमबहादुर भण्डारी र वडा नंम्बर २ का कार्यवाहक अध्यक्ष दीर्घबहादुर बुढाथोकीसहित स्थानीय धार्मिक श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो ।

मन्दिरमा सामूहिक पूजा–आराधना तथा पञ्चवली कार्यक्रम सम्पन्न गरिएको टोलीमा सहभागी रेड क्रस दाङका उपसभापति हरिहर पौडेलले जानकारी दिनुभयो । धार्मिक श्रद्धासँगै सामूहिक सहभागिताले गाउँमा आपसी एकता, मेलमिलाप र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुगेको सहभागीहरूको भनाइ छ ।

यसै क्रममा दर्शनमा सहभागी टोलीले सल्यानकै अर्को प्रमुख धार्मिक तथा पर्यटकीय स्थल कुपिण्डे दहको पनि अवलोकन गरेको थियो । स्थानीयले यसलाई धार्मिक भ्रमणसँगै पर्यटकीय अध्ययन–अनुभूति गर्ने अवसरका रूपमा लिएको बताएका छन् ।

खैराबाङ भगवती मन्दिर सल्यानको महत्वपूर्ण धार्मिक तीर्थस्थलका रूपमा चिनिन्छ । प्रत्येक वर्ष दशैँ र विशेषगरी नवरात्रमा हजारौँ भक्तजन यहाँ पूजाआराधना गर्न आउने गर्दछन् । मन्दिर परिसरमा यस वर्ष पनि भक्तजनको भीड लागेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस