२०८२ कार्तिक ३० गते आइतवार

प्रतिष्ठानको त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर जलन उपचारका लागि सहकार्य गर्ने सहमति

दाङ, २४ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर जलन अस्पतालसँग सहकार्य हुने भएको छ ।
यसअघि मुटु उपचारका लागि सहिद गङ्गालाल मुटु रोग अस्पतालसँग सहकार्य गर्ने सहमति गरी प्रतिष्ठानका नर्सिङ र रेडियोलोजी विभागमा कार्यरत जनशक्तिलाई सिकाइ आदानप्रदानसहित तालिमका लागि पठाइसकिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको तर्फबाट रजिस्ट्रार प्रा. श्याम लम्साल र निमित्त अस्पताल निर्देशक प्रा. डा. जनार्दन पन्थीले त्रिवि शिक्षण अस्पताल र कीर्तिपुर जलन अस्पतालसँग सहकार्य गर्ने सहमति गर्नुभएको हो । लम्साल र पन्थीले सहकार्य अनुसार अब प्रतिष्ठानमा कार्यरत चिकित्सक, नर्स, पारामेडिक्स, कर्मचारी र विद्यार्थीहरुलाई तालिम लिन पठाउने बाटो खुल्नेछ । साथै, दुबै पक्षले जनशक्ति आदानप्रदान गर्न सक्ने व्यवस्था पनि गरिएको छ ।

काठमाडौंमा रहेका दुबै जनाले त्रिविका डिन प्रा. डा. मोहनराज शर्मा र जलन अस्पतालका सिनियर कन्सल्टेन्ट प्रा. डा. शंकरमान राईसँग सहमति गर्दै विद्यार्थी तालिम, एम.डी./एम.एस्. चिकित्सकलाई तालिम दिन मिल्ने गरी सहकार्यका क्षेत्रहरू पनि उल्लेख गर्नुभएको छ ।

त्यस्तै, राप्ती प्रतिष्ठानमा हुने सेवामा प्राविधिक सहयोग, स्वास्थ्य अनुसन्धान, चिकित्सक, नर्स र स्वास्थ्य प्राविधिक तालिम पनि सहकार्यको क्षेत्रमा राखी सहमति गरिएको रजिस्ट्रार प्रा. लम्सालले बताउनुभयो । उहाँका अनुसार आगामी आर्थिक वर्षबाट प्रतिष्ठानमा जलन उपचार सेवा सुरु गर्ने गरी तयारी भइरहेको छ ।

प्रतिष्ठानमा पढिरहेका चिकित्सक र नर्सलाई जलन उपचारको तालिम लिन कीर्तिपुर जलन अस्पतालमा पठाइने पनि उहाँले जानकारी दिनुभयो । प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक प्रा. डा. पन्थीले दुबै स्वास्थ्य संस्थाबीच भएको सहमतिले दक्ष जनशक्ति उत्पादनमा ठुलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस