दाङ । शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएका डिभाइन एजुकेसन फाउन्डेसनका संस्थापक तथा डिभाइन टेम्पल एकेडेमी तुलसीपुरका प्रिन्सिपल भोजराज न्यौपानेलाई नेपाल एजुकेशन अवार्ड यूके–२०२५ मा ‘बेस्ट प्रिन्सिपल अफ द इयर–२०२५’ को प्रतिष्ठित उपाधिबाट सम्मानित गरिएको छ ।
युनिभर्सिटी अफ ग्रिनिच लन्डनमा आयोजित एक भव्य समारोहका बीच कलेज रिडर द्वारा आयोजना र युनिभर्सिटी अफ ग्रिनिच द्वारा होस्ट गरिएको कार्यक्रममा न्यौपानेलाई यो अवार्ड प्रदान गरिएको हो । उक्त कार्यक्रम नेपाली शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वहरूलाई सम्मान गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको हो ।
कलेज रिडर्स संस्था विगत १८ वर्षदेखि शैक्षिक अभियानमा क्रियाशील रहँदै आएको छ र यस अवार्ड कार्यक्रमको यो पाँचौं संस्करण हो । कार्यक्रममा न्यौपानेलाई शैक्षिक नेतृत्व र नवप्रवर्तनशील पहलका लागि प्रेरणादायी व्यक्तित्वका रूपमा सम्मान गरिएको हो ।
आयोजकका अनुसार न्यौपानेको विद्यालय व्यवस्थापनमा दक्षता, शैक्षिक गुणस्तरमा निरन्तर सुधार, खेलकुदमा उत्कृष्टता, प्रविधि सहितको शिक्षा र विद्यार्थी–केन्द्रित कार्यक्रमहरू लगायतलाई मुल्यांकन गरी यो अवार्ड प्रदान गरिएको हो ।












