दाङ । चाडपर्वमा हुन सक्ने कालोबजारी रोक्न तुलसीपुरमा बजार अनुगमनलाई तिब्र पारिएको छ । तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाले खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, ईलाका प्रशासन कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ लगायतको सहकार्यमा बजार अनुगमनलाई तिब्र पारेको हो ।
शुक्रबारमात्रै १४ वटा होटल तथा किराना पसलमा अनुगमन गरिएको छ । अनुगमनको क्रममा अधिकांश होटलमा अखाद्य रंगको मिसावट देखिएको छ ।
तुलसीपुरको बाहिनी चोकदेखि पूर्वतर्फ संचालित अधिकांश होटलमा अखाद्य रंगको मिसावट देखिएको हो । होटलमा पकौडादेखि मासुसम्ममा अखाद्य रंगकोे मिसावट देखिएको छ । अखाद्य रंगको प्रयोग भएको मासु जफत समेत गरिएको छ ।
संघारी खाजा घर र रोल्पाली खाजा घरबाट अखाद्य रंग मिसाएको मासू जफत गरिएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख पदम बरालले खाद्य वस्तुमा रंगको मिसावट गर्दा स्वास्थ्यमा गम्भिर जोखिम हुने बताउनुभयो ।
उहाँले अखाद्य वस्तुको मिसावट नगर्न पहिलो पटक सचेतना दिएको र पटक–पटक फेला परेमा नियमानुसार कार्बाही गरिने बताउनुभयो । खानेकुरामा रंगको प्रयोगले क्यान्सरसम्मको जोखिम हुने उहाँले बताउनुभयो ।
यस्तै बस्नेत किराना पसलबाट अखाद्य रंग मिसाएको सिन्कामारी जफत गरिएको छ । अनुगमन टोलीले लेबल पनि नभएको र अखाद्य रंग मिसावट गरिएको २ हजार २ सय बराबरको अखाद्य सिन्कामारी बरामद गरेको हो ।
अनुगमनको क्रममा संघारी खाजा घर र रोल्पालीसहित भण्डारी खाजा घर, भान्जी होटल लगायतका होटलमा अत्याधिक फोहोर देखिएपछि तत्काल सरसफाईमा ध्यान दिन निर्देशन दिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा अधिकांश होटल तथा पसल तुलसीपुर उपमहानगरपालिकामा दर्ता नभएको पाइएको छ । दर्ता नभएका होटल तथा पसल संचालकलाई तीन दिनभित्र दर्ता प्रक्रियामा आउन अनुगमन टोलीले निर्देशन दिएको छ ।
यस्तै घोराहीरोडमा रहेको बन्जाडे आयल मिलमा पनि अनुगमन गरिएको छ । अनुगमनको क्रममा लेबल नभएको घ्यु बिक्रि नगर्न सुझाव दिइएको छ । यस्तै मिलमा तेल भण्डारण गरिएको ठाउँमा सरसफाईको कमी देखिएपछि अनुगमन टोलीले सरसफाई गर्न सुझाव दिइएको छ ।










