दाङ । हमासले बन्धक बनाएको अवस्थामा मारिएका नेपाली युवा विपिन जोशीको शव नेपाल आइपुगेको छ । जोशी हमासको कब्जामा परेको २ वर्ष १३ दिनपछि शव नेपाल आइपुगेको हो ।
फ्लाई दुबईको विमानबाट दिउँसो विपिनको शवको अवशेष नेपाल ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको सैनिक वाहिनी परिसरमा आयोजित शोक सभामा प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान प्रकट गर्नुभयो ।
विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न विमानस्थलमा मन्त्रीहरू र उच्च पदस्थ पदाधिकारीका साथै नेपालका लागि इजरायली राजदूतको पनि उपस्थिति रहेको थियो । जोशीको पार्थिव शरीरमा श्रद्धान्जली अपर्ण गर्दै प्रधानमन्त्री कार्कीले उहाँको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा रहेको नेपाली राजदूतावासको समन्वय र इजरायली सरकारको तत्वावधानमा मृतक जोशीको शव नेपाल ल्याइएको हो । नेपाली सेनाले धनगढीसम्म स्काईट्रकबाट लगिदिएको शव घर पुर्याएर भोलि अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकामा घर भएका २३ वर्षका जोशी सुदूरपश्चिम विश्वविद्यालयमा स्नातक तहको अध्ययन पूरा गरेर इजरायल सरकारको ’लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत ११ महिने छात्रवृत्तिमा इजरायल पुग्नुभएको थियो ।
इजरायल पुगेको तीन हप्तापछि हमासले सन् २०२३ को अक्टोबर ७ तारिखमा गरेको आक्रमणमा विपिन बन्धक बनाइएका थिए । जोशीसँगै गएका १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो ।














