दाङ । नेपालमा यसवर्ष जापानिज इन्सेफलाइटिस (जेई) संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ । ४५ जिल्लामा फैलिसकेको जापानिज इन्सेफलाइटिसले १७२ जना संक्रमित भइसकेका छन् ।
परिवार कल्याण महाशाखाले अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।
गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाको मृत्यु भएको थियो । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् । पछिल्लो तथ्यांक अनुसार लुम्बिनीमा ११, बागमतीमा ६, गण्डकीमा ५, कोशीमा ४, मधेशमा ३, सुदुरपश्चिमा २ र कणालीमा १ जनाको मृत्यु भएको छ ।
जापानिज इन्सेफलाइटिसबाट ६० वर्षभन्दा माथिकालाई असर गरेको छ । पछिल्लो तथ्यांक अनुसार यसवर्ष ६० वर्षभन्दा माथिका १५ जनाको मृत्यु भइसकेको छ । यस्तै २० देखि ५९ वर्षसम्म १२ जना र १९ वर्षमुनि ५ जनाको मृत्यु भएको छ ।
















