दाङ। लुम्बिनी प्रदेशमा १ लाख १२ हजार ७३३ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । तर, समस्या पहिचान भएका अधिकांश बिरामी उपचार प्रक्रियामा आउन नसकेको पाइएको छ ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका वरिष्ठ अनुगमन तथा मूल्यांकन अधिकृत सालिकराम गौतमका अनुसार मोतियाविन्दुको समस्या देखिएका ७६ प्रतिशत बिरामी उपचार प्रक्रियामा आएका छैनन् ।
उहाँका अनुसार प्रत्येक वर्ष मोतियाविन्दुका बिरामी करिब २० प्रतिशतका दरले बढ्दै जाने गरेका छन् । उहाँले एक सर्वेक्षणअनुसार ४१ प्रतिशतले अस्पताल जान आवश्यक नभएको ठान्ने गरेको, करिब ३६ प्रतिशत आर्थिक अभावका कारण उपचारका लागि अस्पताल आउन नसकेको र २० प्रतिशत बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेको बताउनुभयो ।
आँखाको समस्या देखिए पनि समयमै जाँच तथा उपचार नगराउने प्रवृत्तिका कारण समस्या जटिल बन्दै जाने गरेको उहाँले बताउनुभयो । विशेषगरी मोतियाविन्दुलाई सामान्य समस्या ठानेर उपचारमा ढिलाइ गर्ने, आर्थिक अवस्था कमजोर भएका कारण अस्पताल नजाने तथा उपचार सेवाको पहुँचबारे जानकारी नहुनु चुनौतीका रूपमा देखिएको उहाँको भनाइ छ ।
नेपाल नेत्रज्योति संघअन्तर्गत संचालित आँखा अस्पतालले वार्षिक रूपमा ३३ लाख जनालाई आँखा उपचार सेवा प्रदान गर्दै आएका छन् । यस्तै, हरेक वर्ष करिब ३ लाख जनाको आँखाको शल्यक्रिया हुने गरेको अधिकृत गौतमले बताउनुभयो ।
डा. रञ्जितकुमार शाहले आँखा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार गर्नुपर्ने बताउनुभयो । उहाँले धेरै नागरिकले समयमै आँखा परीक्षण नगराउने गरेको भन्दै आँखामा समस्या नदेखिए पनि नियमित परीक्षण गर्ने बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो । नागरिकले आँखाको स्वास्थ्यमा लापरबाही गर्दा मोतियाविन्दु, जलविन्दु लगायतका समस्या बढ्दै जाने उहाँले बताउनुभयो ।
विश्व दृष्टि दिवसको अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरमा बिहीबार आयोजित अन्तरक्रियामा सहभागीहरुले आँखा उपचारसम्बन्धी सचेतना अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् । दाङमा क्रियाशील पत्रकार तथा आँखा स्वास्थ्य क्षेत्रका विज्ञ व्यक्तिको सहभागितामा अन्तरक्रिया गरिएको हो ।
नेपाल नेत्रज्योति संघ दाङ शाखाका सभापति कृष्णकुमार गिरीले अन्धोपन न्यूनीकरणका लागि तीनै तहका सरकारले आँखा स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । उहाँले ठूलो संख्यामा बिरामी अझै पनि उपचारको पहुँचबाहिर रहेकाले सरकारले पहुँच विस्तारसँगै आर्थिक रूपमा कमजोर नागरिकका लागि उपचार सहज बनाउनुपर्ने बताउनुभयो ।
अस्पताल प्रशासन समितिका संयोजक ध्रुव गौतमको अध्यक्षतामा भएको कार्यक्रममा उहाँले नागरिकमा आँखा स्वास्थ्यसम्बन्धी चेतना बढाउन निरन्तर अभियान आवश्यक रहेको बताउनुभयो ।
नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले आँखाको समस्या ग्रामीण क्षेत्रमा मात्र नभई सहरी क्षेत्रमा समेत रहेको बताउनुभयो । सहरी क्षेत्रमा सञ्चालन हुने विभिन्न आँखा शिविरमा समेत उल्लेख्य संख्यामा मोतियाविन्दुका बिरामी भेटिने गरेको उहाँले बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले अन्धोपन निवारणका लागि नेपाल नेत्रज्योति संघले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।
आँखाको समस्या हुँदा पनि उपचारमा बेवास्ता गर्ने प्रवृत्ति अझै कायम रहेकाले समयमै आँखा परीक्षण, रोगको पहिचान र उपचारका लागि नागरिकलाई प्रेरित गर्ने सचेतना कार्यक्रमलाई गाउँदेखि सहरसम्म प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।
यस्तै आर्थिक अवस्था कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकसम्म आँखा स्वास्थ्य सेवा पुर्याउन स्थानीय तह, स्वास्थ्य संस्था र सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको बताइएको छ । कार्यक्रमको सहजीकरण राप्ती आँखा अस्पतालका सूचना अधिकारी बालाराम खड्काले गर्नुभएको हो ।


























