दाङ, ९ कार्तिक । तुलसीपुर उपमहानगरपालिका–१३ स्थित जन्तीढुंगामा आइतबार सरसफाइ अभियान सञ्चालन गरिएको छ ।
तुलसीपुर–७ जितपुर निवासी समाजसेवी उपेन्द्र पौडेलको नेतृत्वमा गरिएको उक्त अभियानमा बनमारा र फोहोरले ढाकिन लागेका ऐतिहासिक जन्तीढुंगालाई सफा गरिएको हो ।
सफाइ कार्यक्रममा यज्ञ कुँवर, अनिषा पौडेल, बिष्णु पौडेल लगायत स्थानीय युवाहरुको सक्रिय सहभागिता रहेको थियो । सरसफाइ टोलीले जन्तीढुंगालाई प्राकृतिक सौन्दर्यको दृष्टिले संरक्षण गर्नुपर्ने आवश्यकता औंल्याउँदै निरन्तर सरसफाइ अभियान सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् ।
जन्तीढुंगा स्थानीयको आस्था र पर्यटक आकर्षणको स्थलका रूपमा रहेको छ । सरसफाइसँगै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पनि सरोकारवालाले जोड दिएका छन् ।















