दाङ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी निर्देशनविपरीत लुम्बिनी प्रदेश सरकारको पक्षमा मतदान गरेको भन्दै आफ्ना तीनजना प्रदेशसभा सदस्यलाई फेरि स्पष्टीकरण सोधेको छ ।
जसपाका महासचिव डा. सुरेन्द्रकुमार झाले सोमबार पत्र पठाउँदै रुपन्देही क्षेत्र नम्बर ३(१) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डेय, लुम्बिनी प्रदेशसभा सदस्य हेमा वेल्वासे (केसी) र बाँके क्षेत्र नम्बर २(१) का प्रदेशसभा सदस्य भण्डारीलाल अहिरलाई पुनःस्पष्टीकरण सोध्नु भएको हो ।
जसपाले यसअघि नै भदौ १ गते पत्रमार्फत लुम्बिनी प्रदेशको वर्तमान सरकारलाई समर्थन नगर्न र सरकारको विपक्षमा मतदान गर्न स्पष्ट निर्देशन दिएको जनाएको छ । तर, उक्त निर्देशनविपरीत तीनै सांसदले प्रदेश सरकारको पक्षमा मतदान गरेको पार्टीको दाबी छ ।
पार्टीले यसअघि मागेको स्पष्टीकरणको अध्ययन गर्दा नीति, निर्णय तथा निर्देशनको भावनासँग मेल नखाने र उठाइएका प्रश्नको चित्तबुझ्दो तथा सन्तोषजनक जवाफ नआएको जनाएको छ । पार्टीले तीन सांसदलाई पुनः तीनवटा विषयमा स्पष्टीकरण दिन भनेको छ ।
पार्टीको स्पष्ट निर्देशनविपरीत सरकारको पक्षमा मतदान गरी पार्टी निर्णयको अवज्ञा गरेको विषयमा अनुशासनात्मक कारबाही किन नगर्ने, पार्टीको नीति तथा निर्देशनविपरीत पार्टी सदस्यले कार्य गर्न मिल्ने वा नमिल्ने र पार्टी निर्देशनको अवज्ञा गरी गरिएको कार्यलाई पार्टी विधान तथा प्रचलित निर्णयअनुसार कसरी लिनुपर्ने हो भन्नेबारे स्पष्ट धारणा मागिएको छ ।
जसपाले २४ घण्टाभित्र केन्द्रीय कार्यालयमा अनिवार्य रूपमा पुनःस्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । तोकिएको समयभित्र स्पष्टीकरण पेश नगरेमा वा पेश गरिएको स्पष्टीकरण चित्तबुझ्दो नभएमा पार्टी विधान तथा प्रचलित निर्णयअनुसार आवश्यक अनुशासनात्मक कारबाहीको प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ ।
जसपाले पार्टीको नीति, निर्णय तथा निर्देशन पालना गर्नु प्रत्येक पार्टी सदस्यको अनिवार्य दायित्व रहेको स्मरण गराएको छ ।






















