दाङ। तुलसीपुर कारागारका ७६ जना कैदीबन्दी अझै पनि फरार हेका छन् । जेन्जी आन्दोलनको क्रममा गत भदौ २४ गते जेलबाट भागेका २ सय ५३ जना कैदीबन्दीमध्ये ७६ जना अझै पनि फरार रहेको कारागार प्रशासन प्रमुख गिर बहादुर सेजुवालले जानकारी दिनुभयो ।
फरार कैदीबन्दीमध्ये ८ जना भारतीय नागरिक रहेका छन् । प्रशासन प्रमुख सेजुवालका अनुसार तुलसीपुर कारागारबाट भागेका २१ जना कैदीबन्दी जिल्ला बाहिरको कारागारमा रहेका छन् । जिल्ला बाहिरमा कारागारमा रहेका २१ जनासहित १७७ जना कैदीबन्दी पक्राउ परिसकेका छन् ।
तुलसीपुर कारगारमा अन्य जिल्लाका कैदीबन्दी ११ जना रहेका छन् । तुलसीपुर कारागारमा अहिले ३७३ जना कैदीबन्दी रहेका छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयभित्र नफर्किने कैदी तथा थुनुवामाथि कारागार ऐन, २०७९ र अन्य प्रचलित कानुनअनुसार कानुनी कारबाही हुने भएको छ ।
पटक–पटक कारागार प्रशासनले स्वेच्छिक रूपमा फर्किन सार्वजनिक अपिल गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीले फरार कैदीबन्दीको खोजी र पक्राउ कार्यलाई तीव्र बनाइएको प्रशासन प्रमुख सेजुवालले बताउनुभयो ।
फरार कैदी वा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्ति पनि कानुनी रूपमा कसुरदार ठहरिने र उनीहरूमाथि समेत आवश्यक कारबाही अघि बढाइने व्यवस्था छ ।












