दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ गहते निवासी पक्षघात पीडित भिमे खत्रीको उपचारका लागि ‘परम्परा’ टेलिसिरियल र ‘न्यु भिजन परम्परा युवा क्लब’ को संयुक्त अगुवाइमा सञ्चालित ‘भिमे खत्री बचाउ अभियान’ मा झण्डै ८ लाख आर्थिक सहयोग जुटेको छ ।
अभियानमार्फत हालसम्म ७ लाख ८० हजार ८०२ रुपैयाँ आर्थिक सहयोग सङ्कलन भएको हो ।
परम्परा टेलिसिरियलका निर्देशक देवेन्द्र केसीले यस पवित्र कार्यमा हातेमालो गर्नुहुने सम्पूर्ण सहयोगी दातालाई हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सङ्कलित सहयोग रकम ७ लाख ८० हजार ८०२ रुपैयाँ रहेको जानकारी दिनुभयो ।
यसैगरी, न्यु भिजन परम्परा युवा क्लबका अध्यक्ष टंक मल्लले भिमे खत्रीको स्वास्थ्य अवस्था अझै पूर्ण रूपमा सञ्चो नभइसकेकाले सम्पूर्ण इच्छुक दाताहरूलाई थप सहयोग गर्न अपिल गर्नुभएको छ । उहाँले मानवताको यो अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो ।
पीडित भिमे खत्रीका परिवारले आफ्नो बाबाको जीवन रक्षाका लागि अभियान सञ्चालन गर्ने टेलिसिरियल समूह, क्लब र सहयोग दाताहरूलाई कृतज्ञताका साथ धन्यवाद व्यक्त गरेका छन् ।















