दाङ । तुलसीपुर कारागारबाट जेनजी आन्दोलनको क्रममा फरार भएका कैदी तथा थुनुवामध्ये अधिकांश पक्राउ परेका छन् । तुलसीपुर कारागारबाट फरार रहेका ४१ जना प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन अदालतले फैसला गरी फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा ४१ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो । पक्राउ परेका प्रतिबादीलाई कारागार कार्यालय तुलसीपुरमा बुझाइएको उहाँले बताउनुभयो ।
पक्राउ परेकाहरूमाथि जम्मा ९० हजार ७७० रुपैयाँ जरिवाना र १५ वर्ष ४ महिना २० दिन कैद कार्यान्वयन हुने डिएसपी शाहले जानकारी दिनुभयो । गतभदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा कारागारको सुरक्षा घेरा तोडेर तुलसीपुर कारागारबाट २३३ जना कैदी र २० जना थुनुवा गरी जम्मा २५३ जना फरार भएका थिए ।
फरारमध्ये अहिलेसम्म १७७ जना पक्राउ परेका छन् । तीमध्ये १४५ जना कैदी र १० जना थुनुवा गरी जम्मा १५५ जनालाई तुलसीपुर कारागारमै पुनः नियन्त्रणमा लिइएको छ । यस्तै अन्य जिल्लामा १५ जना कैदी र ७ जना थुनुवा गरी २२ जना पक्राउ परेका छन् ।
कारागार कार्यालयका अनुसार ७३ जना कैदी र ३ जना थुनुवा गरी ७६ जना अझै फरार रहेका छन् । साथै, अन्य जिल्लाका कारागारबाट फरार भएका २४ जनालाई दाङ प्रहरीले नियन्त्रणमा लिएको पनि प्रहरीले जनाएको छ । फरारहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।














