दाङ । नेकपा माओवादी केन्द्र नेतृत्वमा बनेको कम्युनिस्ट घटकहरूको नयाँ पार्टीमा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई तेस्रो वरीयता दिइने भएको छ ।
आज बुधबार बिहान खुमलटारमा फाइनल बैठक बसेर माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड उहाँको लागि तेस्रो वरीयता तय गर्नुभएको हो ।
छलफलका क्रममा तेस्रो वरियता दिनेपछि उहाँ पार्टी एकता सभामा अन्तिम समयमा सामेल भएको उनीनिकट नेताहरू बताउँछन् ।
खनालले पनि आफूलाई प्रचण्डले सम्मानपूर्वक राख्छु भनेपछि एकतामा सामेल भएको बताउनुभएको छ । नयाँ बन्न लागेको पार्टीमा प्रचण्ड संयोजक त्यसपछि माधव नेपालको पद र तेस्रो वरीयतामा झलनाथ खनालको पद रहनेछ ।
प्रचण्ड संयोजक भएर दुई नेता सह–संयोजक हुनसक्ने नेताहरूले बताएका छन् । तर कुन पद भन्ने अहिलेसम्म टुङ्गो नलागेको उनीनिकट नेताहरू बताउँछन् ।
स्रोतका अनुसार मंगलबार र बुधबार पनि माधव नेपाल र प्रचण्डले झलनाथको पदका विषयमा लामो छलफल गर्नुभएको थियो । त्यसपछी प्रचण्डले उहाँलाई तेस्रो वरीयता दिएपछि एकतामा जान तयार भएको स्रोतले जनाएको छ ।










