२०८२ माघ ८ गते बिहिवार

मधेशमा मुख्यमन्त्री नियुक्तिको विरोधमा प्रदर्शन


दाङ । मधेशमा मुख्यमन्त्री नियुक्तिको विवादले उग्ररुप लिएको छ । प्रदेश प्रमुख र मुख्यमन्त्रीको कार्यालयमा तोडफोड भएको छ भने नेता–कार्यकर्ताहरुले मधेश भवन अगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री नियुक्त भएका लोसपा नेता जितेन्द्र सोनलले विश्वासको मत पाउने स्थिति नदेखेपछि यही कात्तिक २२ गते प्रदेश सभा बैठकमा राजीनामा घोषणा गर्नुभएको थियो ।

एमालेबाट प्रदेश प्रमुख नियुक्त सुमित्रा सुवेदी भण्डारीले आज बिहान संविधानको धारा १६८ को उपधारा ३ बमोजिम प्रदेश सभाको ठूलो दल एमाले दलका नेता सरोज कुमार यादवलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । अस्वस्थ भएकाले उपचारका लागि काठमाडौं जाने भनेर बिहान झिसमिसेमै निवासबाट निस्किएका प्रदेश प्रमुख भण्डारीले महोत्तरीको बर्दिबास नगरपालिका ३ स्थित पानस होटलमा पुगेर यादवलाई मुख्यमन्त्री पदको शपथ खुवाएपछि असन्तुष्ट दलहरु विरोधमा छन् ।

नवनियुक्त मुख्यमन्त्री सरोज कुमार यादव मधेश भवन आउने सूचना पाएपछि विरोधमा रहेका दलका नेता–कार्यकर्ताहरुले उनलाई रोक्ने प्रयासमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।

मुख्यमन्त्री नियुक्तिबारे पार्टीभित्र छलफल नभएको भन्दै एमालेभित्र पनि असन्तुष्टि छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस