दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– १८ दुधरासमा सञ्चालित सोनापुर मिनरल एण्ड आयल प्रालिले उपभोग गरेको बिजुलीको बक्यौता बुझाएको छ । उद्योगले पहिलो किस्ताबापत ८६ लाख ३० हजार रुपैयाँ बुझाएपछि काटिएको लाइन जोडिएको छ ।
विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको प्रिमियम महसुलको बक्यौता रकम नतिरेको भन्दै प्राधिकरणले ७ कात्तिकमा बिजुलीको लाइन काटिदिएको थियो ।
सोनापुर मिनरलले २०७२ माघदेखि २०७५ वैशाखसम्म २४ करोड २९ लाख ९९ हजार रुपैयाँ नतिरेको र त्यसलाई २८ किस्तामा विभाजन गरी चुक्ता गर्ने सुविधा दिइएको प्राधिकरणले जनाएको छ ।
तर त्यसको प्रमाण प्राधिकरणले दिन नसकेपछि उद्योगहरुले रकम नतिर्ने बताएका छन् । यो विवादका बीच नेपाल उद्योग वाणिज्य महासंघले प्राधिकरणले पुनरावलोकन गर्ने र त्यसमा चित्त नबुझे कानुनी प्रकृयाका लागि अदालत जाने प्रस्ताव राखेको थियो । सोही प्रस्तावअनुसार गर्नू भनी प्रधानमन्त्री कार्यालयले ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो । सोही अनुसार उद्योगहरुले धरौटी रकम बुझाइरहेका छन् । सोनापुर मिनरल एण्ड आयल प्रा.लि.ले बुझाएको पनि धरौटी रकम हो ।












