दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको महेन्द्र माद्यामिक विद्यालयका शिक्षक ज्ञानबहादुर केसीले बाटोमै फेला परेको पर्स तीन घण्टामै सम्बन्धित व्यक्तिलाई सुरक्षित रूपमा बुझाएर उदाहरणीय काम गर्नुभएको छ ।
आइतबार आज दिउँसो करिब साढे १२ बजे पर्सेनितिर जाँदै गर्दा घोराही–तुलसीपुर सडकखण्डको हात्तीखौवा ओरालोमा उहाँले पर्स फेला पार्नुभएको थियो । पर्सभित्र करिब ६० हजार रुपैयाँ नगद, महत्वपूर्ण कागजात, परिचय पत्र लगायतका सामग्री थिए ।
पर्सका धनिलाई पहिचान गर्न केसीले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको थियो । शिक्षक पुर्ण वलीको फेसबुकबाट नगदसहित पर्स भेटिएको सूचना प्रवाह भएको करिब ३ घण्टापछि सम्बन्धित व्यक्ति घोराही–९ पोखरा बस्ने प्रेमबहादुर राना सम्पर्कमा आउनुभएको थियो ।
रानाले छोरीको उपचारका लागि अरूसँग मागेर ल्याएको पैसा हराउँदा स्तब्ध भएको अवस्थामा शिक्षक केसीले भेटाएको थाहा पाएपछि खुशी लागेको बताउनुभयो । उहाँले शिक्षक केसीको इमान्दारीप्रति प्रशंसा गर्नुभएको छ । शिक्षक केसीलाई पुरस्कार दिन खोज्दा समेत नलिएको बताउनुभयो ।












