दाङ । आन्तरिक राजश्व कार्यालय तुलसीपुरले चालु वर्षको चार महिनाको अवधिमा ७२ करोड १६ लाखबढी राजश्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्षको चार महिनाको अवधिमा ७२ करोड १६ लाख ३७ हजार राजश्व संकलन गरेको हो ।
कार्यालयले चार महिनामा लक्ष्यभन्दा करिब २० प्रतिशत कम अर्थात ८० दशमलव २५ प्रतिशत राजश्व संकलन गरेको जनाएको छ । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ८९ करोड ९१ लाख ६१ हजार राजश्व संकलनको लक्ष्य रहेकोमा ७२ करोड १६ लाख ३७ हजार राजश्व संकलन भएको कार्यलय प्रमुख श्रीधर टण्डनले जानकारी दिनुभयो ।
लक्ष्य अनुसार रावस्व संकलन नभए पनि गत वर्षको भन्दा यो वर्ष राजस्व संकलन धेरै भएको छ । गतवर्ष यसै अवधिमा ७० करोड ३ लाख ५८ हजार राजश्व संकलन भएको थियो ।
गत आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब १४ करोड ६ लाख राजश्व संकलनको लक्ष्य रहेकोमा २ अर्ब ९४ करोड २४ लाख अर्थात लक्ष्यको ९३ दशमलव ४५ प्रतिशत राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।
आर्थिक ऐन–२०८२ ले भुक्तानी तथा विवरण बुझाउन बाँकी रहेका विभिन्न प्रकारका करदातालाई पुस मसान्तसम्म विशेष छुट सुविधा घोषणा गरेको कार्यालयले जनाएको छ ।
यस्तै कार्यालयमा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाता ४३ हजार ३९, व्यक्तिगत १ लाख २४ हजार ६९८ र संस्थागत ७६६ पुगेका छन् । करदाता बृद्धि हुदै गईरहेकोले करको दायरा विस्तार हुदै गएको प्रमुख टण्डनले बताउनुभयो ।
कार्यालयले दाङका १० स्थानीय तह तथा रोल्पाका तीन पालिकामा कार्यालयले प्रत्यक्ष सेवा दिंदै आएको छ । बाँकी क्षेत्र, प्यूठान, सल्यान, रुकुम पूर्व तथा रुकुम पश्चिममा भने करदाता सेवा कार्यालय चकचके (प्यूठान) र श्रीनगर (सल्यान) मार्फत सेवा प्रवाह भइरहेकामा हाल विभागीय पुनर्संरचनापछि वैकल्पिक व्यवस्था नहुँदासम्म सेवा यथावत् रहने उहाँले जानकारी दिनुभयो ।
कार्यालयले कर भुक्तानी, विवरण दाखिला, करचुक्ता प्रमाणपत्रलगायतका धेरै सेवा अनलाइन माध्यमबाट उपलब्ध गराउदै आएको छ । सेवाग्राहीको सहजिकरणका लागि उद्योग वाणिज्य संघसँगको सहकार्यमा करदाता सहायता कक्षसमेत सञ्चालनमा छ । गुनासो सुन्ने अधिकारी, सूचना अधिकारी तथा बैंक काउण्टर मार्फत राजश्व भुक्तानीको व्यवस्था गरेर सेवा सहज बनाइएको कार्यालयले जनाएको छ ।












