२०८३ भाद्र २७ गते शनिवार

वडा अध्यक्ष जिसीद्वारा बाढी प्रभावितलाई नगद र खाद्यान्न सहयोग

दाङ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न क्षेत्रबाट राहत तथा सहयोग जुटाउने क्रम जारी छ । विपद्को यो कठिन घडीमा दाङको तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्ष रामबहादुर जिसीले पनि व्यक्तिगत रूपमा आर्थिक सहयोग गर्नुभएको छ ।

वडा अध्यक्ष जिसीले बाढी प्रभावितका लागि १५ हजार ५ सय ५५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्नुभएको हो ।

त्यसैगरी, वडा अध्यक्ष जिसीले आफ्नो जिसी ग्यास सप्लायर्सको तर्फबाट पनि बाढी प्रभावित तुलसीपुर–७ बसन्तपुर निवासी सामील बिकका लागि दैनिक उपभोग्य सामग्री सहयोग गर्नुभएको छ ।

विपद्मा परेका नागरिकको पीडामा केही भए पनि मल्हम लगाउने उद्देश्यले खाद्यान्न तथा आवश्यक सामग्री उपलब्ध गराइएको उहाँले बताउनुभयो ।

जिसी ग्यास सप्लायर्सको तर्फबाट चामल, दाल, तेल, नुन, सोयाबिन, बेसार, चिनी, चिया, चिउरा, साबुन र बिस्कुटलगायतका सामग्री सहयोग गरिएको छ ।

विपद्का बेला पीडित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै वडा अध्यक्ष जिसीले संकटको समयमा गरिने सानो सहयोगले पनि पीडित परिवारका लागि ठूलो अर्थ राख्ने बताउनुभयो । देश नै विपत्तिमा परेको बेला आफूले सक्ने सहयोग गर्नु मानवीय दायित्व भएको उहाँको भनाइ छ ।

नागरिकका हरेक सुख–दुःख र विपद्मा सहयोगी बन्दै आउनुभएका वडा अध्यक्ष जिसीले यसपटक पनि व्यक्तिगत तथा व्यावसायिक तर्फबाट सहयोग गर्नुभएको हो । उहाँले विपद्मा परेका नागरिकलाई राहत र पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग जुट्न आवश्यक रहेको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस