२०८३ भाद्र २७ गते शनिवार

भोटेकोशी बाढीबाट ६७ अर्बभन्दा बढीको क्षति


दाङ । भोटेकोशी बाढीका कारण ६७ अर्ब ८७ करोड रुपैयाँ बराबरको क्षति भएको पाइएको छ । बाढीबाट भएको क्षतिको पुनरुत्थान तथा पुनर्निर्माणका लागि एक खर्ब तीन अर्ब ५४ करोड रुपैयाँ आवश्यक पर्ने आकलन गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यकताको मूल्याङ्कन’ अर्थात् आरडिएनए प्रतिवेदनले यस्तो देखाएको हो ।

प्रतिवेदनअनुसार बाढीका कारण सात हजार पाँच सय ७० वटा निजी घर ध्वस्त भएका छन् । घर तथा घरभित्र रहेको सम्पत्तिसहित निजी आवास क्षेत्रमा ६३ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसको पुनरुत्थानका लागि ९५ अर्ब ८२ करोड ७२ लाख रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ ।

त्यस्तै, ४८ वटा सार्वजनिक भवनमा क्षति पुगेको छ । जसमध्ये ३५ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने १३ वटामा आंशिक क्षति पुगेको छ । सार्वजनिक भवन तथा त्यसमा रहेको सम्पत्तिमा दुई अर्ब ६४ करोड ५९ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यसको पुनर्निर्माणका लागि चार अर्ब २३ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको छ ।

बाढीबाट १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रूपमा ध्वस्त भएका छन् भने सात वटामा आंशिक क्षति पुगेको छ । विद्यालय भवन तथा अन्य सम्पत्तिमा ९३ करोड ७३ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने पुनरुत्थानका लागि दुई अर्ब ३४ करोड रुपैयाँ आवश्यक पर्ने प्रतिवेदनमा उल्लेख छ । –उज्यालो अनलाइनबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस