२०८२ मङ्सिर २२ गते सोमवार

घोराही–तुलसीपुर चारलेन सडक स्तरोन्नतीको काम शुरु

दाङ । दाङको मूख्य लाइफलाइन मानिएको घोराही–तुलसीपुर सडकलाई चारलेनमा स्तरोन्नतीको काम शुरु भएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको सडक स्तरोन्नतीको काम सोमबारबाट शुरु भएको हो ।

पहिलो चरणमा दुई वटा स्काभेटर प्रयोग गरी फिल्डमै काम सुरु भएको निर्माण कम्पनीले जनाएको छ । सडकको स्तरोन्नतीका लागि पहिलो चरणमा गुर्जे खोलाबाट काम सुरु भएको हो ।

पहिलो चरणमा सडक किनारामा परेका खाडलहरू पुर्ने, झाडी सफा गर्ने र माटो फिलिङको काम हुने निर्माण कम्पनी दिवा/बन्दन भगवती जेभीका कन्ट्याक्ट मेनेजर इन्जिनियर सुनिल ढुङ्गानाले बताउनुभयो । उहाँका अनुसार माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम पनि सँगसँगै सुरु हुनेछ ।

कामलाई छरितो सम्पन्न गर्न घोराही—तुलसीपुर सडकखण्डकै बेलझुण्डी रङ्गशालाको उत्तरतर्फको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी रूपमा परियोजना अवधिभरका लागि क्रसर स्थापना गर्ने, पानीका लागि डिप बोरिङ खन्ने र त्यहीँ साइट अफिस खोल्ने कामसमेत भइसकेको कम्पनीले जनाएको छ ।

किनाराबाट च्यातिँदै जानु र बिच बिचमा परेका खाडलको आयतन बढ्दै जाँदा अहिले घोराही–तुलसीपुर सडकमा कार, जिप तथा मोटरसाइकल यात्रामा सास्ती भोग्नु परेको छ ।

मदन भण्डारी राजमार्ग आयोजनाको नयाँ कार्यक्रम अनुसार घोराही–तुलसीपुर चारलेन सडक खण्डको लम्बाइ २१ दशमलव ५८ किलोमिटर रहनेछ । जुन घोराहीको डिके पेट्रोल पम्पदेखि सुरु भएर तुलसीपुरको हात्तीखौवासम्म रहनेछ ।

आयोजना सम्झौता अनुसार स्तरोन्नति हुने सडक सहरी क्षेत्रमा २० मिटर कालोपत्रे र फुटपाथसहित ३० मिटर कायम हुनेछ । ग्रामीण क्षेत्रमा भने १५ मिटर चौडाइ कालोपत्रे हुनेछ । सडकको बिचमा भने तीन मिटरको मेडियन रहनेछ । उक्त क्षेत्रमा रेलिङसहित आवश्यकता अनुसार वृक्षारोपण हुनेछ ।

घोराही–तुलसीपुर चारलेन सडक तीन वर्षभित्र निर्माण सक्ने गरी दिवा–बन्धन भगवती जेभिले २०८२ साल असार २४ गते निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनिले भ्याटसहित २ अर्ब ५२ करोडमा निर्माणको जिम्मा लिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस