दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ बेलुवामा रहेको सगरमाथा स्कुलमा ‘सगरमाथा मित्रता क्याम्प’ संचालन गरिएको छ । सगरमाथा स्काउट ट्रुपले तीन दिनसम्म ‘सगरमाथा मित्रता क्याम्प’ संचालन गरेको हो ।
विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा समापन कार्यक्रम भएको हो ।
नगरप्रमुख खड्काले स्काउट अनुशासनको प्रतीक भएको बताउँदै समाजका हरेक सामाजिक काममा स्काउट सक्रिय हुने बताउनुभयो । नयाँ पुस्तलाई पुरानो पुस्ताले अनुशासन सिकाउन आवश्यक रहेको भन्दै उहाँले यो काम विद्यालय तहबाट शुरू हुनुपर्ने बताउनुभयो । उहाँले नगस्तरमा पनि स्काउट परिचालन गर्नका लागि बजेट बिनियोजन गरेको बताउनुभयो ।
स्काउट लुम्बिनी प्रदेश सदस्य रविन वलीले तुलसीपुरका अन्य विद्यालयमा पनि कार्यक्रम गर्ने चासो बढेको बताउनुभयो । उहाँले सिकेका कुरा व्यवहारतह कार्यान्वयन गरेर सामाजिक कर्ममा जोडिनुपर्ने बताउनुभयो । क्याम्पमा ३७ जना सहभागी रहेका थिए । क्याम्पका प्रमुख प्रशिक्षक अमृत बिकले विद्यालयले तीन दिन दुई रातको कार्यक्रम गरेर विद्यार्थीमा नेतृत्व विकास गराउन सहयोग गरेको बताउनुभयो ।












