२०८२ मङ्सिर २१ गते आइतवार

दाङमा क्षमताभन्दा बढी सामाग्री बोकेर गुड्छन् सवारी साधान


दाङ । दाङमा भारवहन सम्बन्धि नयाँ निर्देशन जारी भएको छ । सडक डिभिजन दाङको कार्यक्षेत्र अन्तर्गतका विभिन्न सडक खण्डहरूमा मालवाहक ट्रक तथा टिपरले तोकिएको भार भन्दा बढी सामान बोकेर सञ्चालन गर्दा सडक जीर्ण बन्दै गएपछि भारवहन सम्बन्धी नयाँ निर्देशन जारी गरेको हो ।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सुर्खेतअन्तर्गतको डिभिजनले जारी गरेको सूचनामा भार अनुमति नाघेर गुड्ने सवारी साधनलाई कडाइका साथ रोक्न सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ ।

सूचनामा ढुङगाखानी, चुनढुङगाखानी, कोइलाखानी निर्माण सामाग्री उत्पादन हुने स्थानहरु मुख्यगरी कमिरेचौर, घोराही–तुलसीपुर सडक खण्ड, शहिद मार्गको लमही–घोराही सडक खण्ड, राप्ति राजमार्गको तुलसीपुर कपुरकोट सडक खण्डमा भारवहन क्षमताभन्दा बढी सामाग्री बोकेर सवारी गुड्ने गरेको पाइएको छ । अत्यधिक भारका कारण बारम्बार सडक भासिने, भत्किने, बिग्रिने समस्या देखिएपछि भार सीमा तोकिएको छ ।

निर्देशन अनुसार निर्माण सामग्री, सामान्य उपभोग्य वस्तु, कृषि सामग्री, मलबाट, ग्यास जस्ता खाद्य तथा आवश्यक वस्तु ढुवानी गर्ने सवारी साधनले समेत तोकिएको भारभन्दा बढी सामान बोक्न नपाउने व्यवस्था गरिएको छ । तोकिएको सीमा नाघेमा अनुगमन टोलीले तत्काल रोक्ने, कारबाही गर्ने तथा चालकलाई दण्डित गर्ने उल्लेख गरिएको छ ।

डिभिजनले तोकेको नयाँ तौल सीमामा दुई एक्सल (चार पाङ्ग्रा) मा १२ टन, दुई एक्सल (छ पाङ्ग्रा) मा १६ दशमलव २० टन, तीन एक्सल (दस पाङ्ग्रा) मा २५ टन, चार एक्सल (बाह्र पाङ्ग्रा) मा ३१ टन, चार एक्सल (चौध पाङ्ग्रा) मा ३० टन र पाँच एक्सल (अठार पाङ्ग्रा) मा ४० दशमलव २० टनको सिमा निर्धारण गरेकोे छ ।

यसअघि जिल्ला प्रशासन कार्यालय दाङ, उद्योग वाणिज्य संघ, ट्राफिक प्रहरी कार्यालय, सडक विभाग, स्थानीय तह तथा सरोकारवाला निकायहरूको सहभागितामा बसेको बैठकमा भारवहन नियमन गरेर मात्र सडक सुरक्षित हुने भन्दै एकमत भएको थियो । सोही आधारमा डिभिजनले नयाँ मापदण्ड लागू गरेको हो ।

डिभिजन दाङका प्रमुखले जारी गरेको सूचनामा सडक सुरक्षाका लागि सबैले तोकिएको भार मापदण्ड पालना गर्नु अनिवार्य रहेको उल्लेख छ । डिभिजनले आफ्ना जिम्मेवारीका सडकलाई सुरक्षित राख्न तथा दीर्घकालीन टिकाउ बनाउन सवारी चालक, व्यवसायी तथा उद्योगीहरूलाई पूर्ण सहयोग र नियम पालना गर्न आग्रह गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस