२०८२ माघ २५ गते आइतवार

गुरुकुल एकेडेमी तुलसीपुरद्वारा न्यानो कपडा वितरण, ७० विद्यार्थी लाभान्वित


दाङ । समाजसेवाको अभियानमा निरन्तर सक्रिय गुरुकुल एकेडेमी तुलसीपुरले भैलो कार्यक्रम–२०८२ बाट संकलित रकमबाट दाङको हरीपौरा स्थित श्री पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत अति विपन्न परिवारका विद्यार्थिहरूलाई न्यानो कपडा वितरण गरेको छ ।

विद्यालयले करिब १ लाख रुपैयाँ बराबरको न्यानो वस्त्र सहयोग स्वरूप प्रदान गरेको हो । सहयोगअन्तर्गत कक्षा १ देखि ८ सम्मका ७० जना विद्यार्थीलाई ट्र्याकसुट, टोपी र स्विटरलगायतका न्यानो कपडा वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिनुभयो ।

चिसो मौसम नजिकिँदै गर्दा यस्तो सहयोगले विद्यार्थीहरूलाई स्वास्थ्य र पठनपाठन दुबैमा सहजताका लागि न्यानो कपडा वितरण गरिएको हो ।

सहयोग प्राप्त भएपछि पशुपति माध्यमिक विद्यालय हरीपौरा दाङका प्रधानाध्यापक राधा चौधरीले गुरुकुल एकेडेमीप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।

विपन्न पृष्ठभूमिका विद्यार्थीहरूलाई पाठशालामा निरन्तर उपस्थिति र सिकाइ वातावरण सहज बनाउन गुरुकुलको योगदान प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।

सहयोग कार्यक्रममा गुरुकुल एकेडेमीको तर्फबाट विद्यालय कप्तान दिपेक्षा बुढाथोकी, विद्यालय संयोजक चिन्तना धिताल, तथा प्रधानाध्यापक मुकुन्द गिरीले आ–आफ्ना मन्तव्य राख्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य र सुखद शिक्षण यात्राका लागि शुभकामना दिनुभयो ।

उहाँहरूले गुरुकुल केवल शैक्षिक संस्था मात्र नभई समाजप्रति उत्तरदायी भूमिका निर्वाह गर्ने अभिभावकको रूपमा अघि बढिरहेको प्रतिवद्धता व्यक्त गर्नुभयो ।

गुरुकुल एकेडेमीले ‘समाजसँग गुरुकुल’ भन्ने नारा आत्मसात गर्दै विभिन्न सामाजिक अभियान, सहयोग कार्यक्रम र समुदायमुखी गतिविधिहरू निरन्तर सञ्चालन गर्दै आएको छ ।

संस्थाले शिक्षालाई व्यवहारसँग जोड्दै सामाजिक उत्तरदायित्व पूरा गर्नु आफ्नो दीर्घकालीन लक्ष्य रहेको जनाएको छ ।

यस प्रकारको सहयोगले विपन्न विद्यार्थीमा अध्ययनप्रतिको प्रेरणा थप्ने, विद्यालयप्रति विश्वास वृद्धि गर्ने तथा सामुदायिक शैक्षिक विकासमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ । गुरुकुल एकेडेमीले आगामी दिनमा पनि यस्ता समाजोपयोगी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस