दाङ, १६ मंसिर ।
दाङको राजपुर गाउँपालिका–३ भैसहवा निवासी रक्षाकुमारी यादवले २० वर्षकै उमेरमा विद्यालयको नेतृत्व सम्हाल्न सफल हुनुभएको छ ।
उहाँले बबई गाउँपालिका–७ जलजला मलईस्थित सरस्वती आधारभूत विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारी सम्हाल्नुभएको हो ।
अत्यन्त कम उमेरमै शिक्षा प्रशासनको जिम्मेवारीबहन गर्दै अगाडि बढेकी रक्षाको यो कदम स्थानीय समुदायका लागि प्रेरणादायी बनेको छ ।
उहाँको लगनशीलता, दृढता र कार्यक्षमताको व्यापक प्रशंसा भएको छ । धेरैले उहाँलाई ‘युवा नेतृत्वको उत्कृष्ट उदाहरण’ भन्दै बधाई तथा शुभकामना दिएका छन् ।
प्रधानाध्यापकका रूपमा उहाँले विद्यालयमा प्राविधिक शिक्षा, बालमैत्री वातावरण निर्माण तथा गुणस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ ।
उहाँलाई कक्षा ६ देखी कक्षा १२ सम्म अध्ययनका लागि क्रियटिङ पोसिबिलिटिज नेपाल ( सिपि नेपाल)ले विशेष सहयोग गरेको थियो । आज कम उमेरमा सफलताको शिखर चुम्दा सिपि नेपाल परिवारले अत्यन्त खुसी व्यक्त गरेको छ ।
गाउँमा एक युवा महिलाले यसरी नेतृत्व सम्हाल्नु स्वयंमा महत्वपूर्ण उपलब्धिको रूपमा हेरिएको सरोकारवालालको भनाई छ । अभिभावक तथा स्थानीयवासीहरूमा सामुदायिक विद्यालयमा युवा नेतृत्व बढ्दै जाँदा शिक्षा क्षेत्रमा नयाँ ऊर्जा, नयाँ सोच र सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ ।
















