दाङ ।अपांग समाज सुधार केन्द्र तुलसीपुरको १७ औं साधारणसभा तथा छठौँ अधिवेशन शुक्रबार तुलसीपुरमा गरिएको छ । समाजका अध्यक्ष ईश्वरी प्रसाद खड्काको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
नगर उपप्रमुख चौधरीले अपांगता भएका व्यक्तिका लागि उपमहानगरपालिकाले आर्थिक उपार्जनका कार्यक्रम गरिरहेको बताउनुभयो । बजेटमा पनि उपमहानगरपालिकाले अपांगता भएका व्यक्तिका लागि गर्नुपर्ने कार्यक्रमका लागि प्राथमिकतामा पार्ने गरेको बताउनुभयो ।
यसैगरी तुलसीपुर–१२ का अध्यक्ष खुशीराम चौधरीले अपांगता भएका व्यक्तिका लागि राज्य भरोसाको केन्द्र बन्नुपर्ने बताउनुभयो । उहाँले वडामा प्रत्येक वर्ष अपांगता भएका व्यक्तिको अर्थोपार्जनका लागि बजेट बिनियोजन गर्ने गरेको बताउनुभयो ।
साधारण सभामा महासचिव दोलक बहादुर खत्रीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामप्रसाद चौधरीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । संस्थाका उपाध्यक्ष हरिकला भण्डारीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव दोलक बहादुर खत्रीले गर्नुभएको हो । अधिवेशनले नयाँ नेतृत्व पनि चयन गर्नेछ ।














