२०८२ माघ ७ गते बुधवार

वैदेशिक रोजगारीको नाममा लाखौँको ठगी


दाङ। वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना रोकिन सकेका छैनन् । जिल्ला प्रशासन कार्यालय दाङमा वर्सेनि वैदेशिक रोजगारीका नाममा लाखौँ रुपैँयामा ठगी परेको भनेर निवेदन पर्ने गरेको देखिएको छ ।

पुस महिनामा मात्रै पाँचवटा उजुरी जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङको मुद्दा शाखामा चालु आर्थिक वर्षको हालसम्म ४८ निवेदन वैदेशिक रोजगारीको नाममा ठगीका परेको रहेका छन् ।

यसैबिच एक करोड २० लाख ६९ हजार ठगी भएको दाबीसहित परेका निवेदनमा छलफल गराएर जिल्ला प्रशासन कार्यालयले ६२ लाख ७० हजार रुपैयाँ पीडितलाई फिर्ता गराएको छ ।

मुद्दा शाखाका नासु एकराज अधिकारीका अनुसार ५७ लाख ४५ हजार रुपैयाँ गत आर्थिक वर्षका सातवटा निवेदनबाट फिर्ता गराइएको छ । यस वर्ष वैदेशिक रोजगार विभागमा १० वटा र तीनवटा सक्कल निवेदन प्रहरीमा पठाइएको छ भने १० वटामा प्रहरीबाट मानिस उपस्थित नभएको रेकर्ड छ ।

गत आर्थिक वर्ष २०८१/०८२ मा १९ करोड ८२ लाख ४७ हजार ठगी भएको भनी दुई सय ८५ निवेदन परेका थिए जसमा चार करोड ९७ लाख ४२ हजार जिल्ला प्रशासन कार्यालयमा भएको छलफलबाट पीडितलाई फिर्ता गराइएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा रहेको सुरक्षित आप्रवासन कार्यक्रमको सूचना तथा परामर्शकर्ता रीता लामाले श्रम स्वीकृति नगर्दा, पैसा बुझाएको प्रमाण नराख्दा, नेपालको नभई भारत तथा अन्य देशको विमानस्थल प्रयोग गरी जाँदा, एजेन्टलाई शुरुमै राहदानी र पैसा बुझाउँदा, जाने देशको नियम र धर्म संस्कृति नबुझ्दा तथा सीप नसिकेर जाँदा धेरैजसो ठगिने तथा समस्यामा पर्ने गरेको बताउनुभयो । उहाँले नियम कानुन नजान्दा र प्रक्रिया नबुझी पैसा बुझाउँदा पनि धेरै ठगिएको बताउनुभयो । नयाँ युगबोध राष्ट्रिय दैनिकमा सन्तोष खनालले खबर लेख्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस