दाङ । दाङमा एक साताको अवधिमा २७ जना फरार प्रतिवादी पक्राउ परेका छन् । फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन दाङ प्रहरीले फरार प्रतिवादी खोजतलास अभियान सञ्चालन गरेको छ । सो अभियानअन्तर्गत विभिन्न समयमा मुद्दा फैसला भई फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।
पुस १ गतेदेखि पुस ७ गतेसम्म जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोली खटिएर गरिएको खोजतलासका क्रममा विभिन्न मुद्दाका २७ जना फरार प्रतिवादी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।
उहाँका अनुसार पक्राउ परेका प्रतिवादीहरूबाट जम्मा ३ लाख ७६ हजार ८ सय ५३ रुपैयाँ जरिवाना असुल गर्नुपर्ने देखिएको छ । साथै उनीहरूलाई जम्मा ४ वर्ष ६ महिना १५७ दिन कैद सजाय तोकिएको छ ।
पक्राउ परेका प्रतिवादीहरूलाई फैसला कार्यान्वयनका लागि दाङ जिल्ला अदालतमा पठाइएको डिएसपी शाहले जानकारी दिनुभयो ।
आगामी दिनमा पनि अदालतका फैसला कार्यान्वयनलाई थप प्रभावकारी बनाउँदै फरार प्रतिवादी खोज अभियान निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ ।














