२०८२ फाल्गुन २९ गते शुक्रवार

फोहोर प्लास्टिक र वालुवा मिसाएर टायल बनाउने उद्योग पहिलोपटक दाङमा


दाङ । दाङमा पहिलोपटक फोहोर प्लास्टिकलाई प्रशोधन गरेर टायल उत्पादन सुरु गरिएको छ । तुलसीपुरमा विगत १२ वर्षदेखि जिव्सन सिमेन्ट टायल उद्योग सञ्चालन गर्दै आएका तुलसीपुर–४ वनहरीका निरज देवकोटाले फोहोर प्लास्टिक र बालुवा मिसाएर आकर्षक डिजाइनका ‘पोलिस्यान्ड टायल’ उत्पादन गर्ने उद्योग सञ्चालनमा ल्याउनुभएको हो ।

युरोपियन प्रविधिमा आधारित यो उद्योग नेपालकै पहिलो भएको सञ्चालक देबकोटाको दाबी छ । उहाँले दैनिक प्रयोगपछि खेर फाल्ने प्लास्टिकलाई कच्चा पदार्थका रूपमा प्रयोग गरेर टिकाउ र वातावरणमैत्री टायल उत्पादन भइरहेको जानकारी दिनुभयो । घरको छाना छाउन, आँगनमा बिछ्याउन, पार्किङ तथा भान्साका लागि प्रयोग हुने टायल उद्योगमा उत्पादन भइरहेका छन् ।

नेपालभर फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको वर्तमान अवस्थामा दाङमा सुरु गरिएको उद्योगले फोहोर व्यवस्थापनमा खेलेको भूमिका प्रशंसायोग्य देखिएपनि स्थानीय स्तरमा निक्लने फोहर उद्योगले प्राप्त गर्न भने सकेको छैन् । दाङका दुई उपमहानगरपालिका मध्य तुलसीपुर उपमहानगरपालिकाले पनि फोहोर व्यवस्थापनमा चुनौती भोगिरहेको बेला फोहोरलाई मोहोरमा वदल्न आफ्नै गाउँघरमा उत्पादन गरेका स्वदेशी वस्तुलाई प्रवद्र्धन गर्ने देवकोटाको लक्ष्य रहेको छ । स्थानीय सरकारसँग फोहोर प्लास्टिक जन्य सामाग्री किन्ने प्रस्ताव राख्दा समेत सहयोग नपाएको भन्दै उहाँले दुःखेसो पोख्नुभयो ।

देवकोटाको सपना आफ्नै गाउँठाउँमा स्वरोजगार सिर्जना गर्ने हो । तर फोहोर व्यवस्थापनमा सहकार्य गर्न लामो समयसम्म प्रयास गरेपनि स्थानीय सरकारले त्यसतर्फ कुनै चासो नदेखाएको बताउनुभयो ।

उहाँले भन्नुुभयो–“स्थानीय सरकारसँग फोहोर किन्छु भन्दा समेत पाइएन अरु के अपेक्षा गर्नु । यदि स्थानीय सरकारले फोहोरलाई वर्गीकरण गरेर उद्योगलाई दिन सके, प्लास्टिक समस्या होइन, सम्पत्ति बन्छ ।”

अहिले उद्योगमा दैनिक करिब ६ सय केजी वेस्ट प्लास्टिक खपत हुँदै आएको छ भने दैनिक ४५० फिट टायल उत्पादन भइरहेको छ ।

गाउँघरमा कपाल खरिदका लागि जाने व्यापारीहरू जस्तै स्थानीयस्तरमै फोहोर प्लास्टिक संकलन भए आफूहरू गाउँमै पुगेर खरिद गर्न तयार रहेको उहाँको भनाइ छ । तर यसकोे व्यवस्थापनको जिम्मा राज्यले लिनुपर्ने उहाँल बताउनुभयो ।

उद्योगका लागि आवश्यक कच्चा पदार्थ भने विभिन्न बाह्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्यता छ । भारतको चेन्नईमा एरोनटिकल इन्जिनियरिङ अध्ययन गरेर नेपाल फर्किएका देवकोटाले करिब ४ करोड रुपैयाँको लगानीमा दाङमा उद्योग सञ्चालनमा ल्याउनुभएको हो । युरोप तथा अमेरीकाको विभिन्न सहरमा सञ्चालन भएका उद्योगहरुको अध्ययनपछि दाङमा सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।

उद्योगले प्रत्यक्ष रूपमा ३० जनालाई रोजगारी दिएको छ भने सयौं अप्रत्यक्ष रूपमा रोजगारीमा जोडिएका छन् । उत्पादन सुरु गरेको छोटो समयमै पोखरा, बुटवल लगायत देशका मुख्य सहरहरूमा टायलको माग उच्च रहेको सञ्चालक देबकोटाले बताउनुभयो । कम्पनीका अनुसार टायलमा सय वर्षको वारेन्टी दिइएको छ । एकपटक प्रयोग गरेपछि सजिलै अर्को स्थानमा सार्न मिल्ने, कोठा नतातिने, शीत नचुहिने र आगोले नजल्ने जस्ता विशेषताले यो टायल उपभोक्तामाझ लोकप्रिय बन्दै गएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस