२०८२ माघ ७ गते बुधवार

तुलसीपुरमा माघ विशेष कार्यक्रम


दाङ । थारु समुदायको भाषा, संस्कृति र पहिचान संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले तुलसीपुरमा माघ विशेष कार्यक्रम भएको छ ।

“थारु भाषा, संस्कृति, भेषभूषा हाम्रो पहिचान, संरक्षण, सम्बद्र्धन र विकास गर्ने हाम्रो अभियान” भन्ने मूल नाराका साथ तुलसीपुर–५ नमुना भूह्याँर थान जबरपुरमा कार्यक्रम सुरु भएको हो ।

नमुना भूह्याँर थान संरक्षण जबरपुर, मटवा महासंघ तुलसीपुर नगर समिति, थारु कल्याणकारीणी सभा क्षेत्र नं. ३ दाङ र थारु स्वास्थ्यकर्मी समाज दाङकोे संयुक्त आयोजनामा कार्यक्रम सुरु भएको छ ।

कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले निस्राउ दिएर गर्नुभएको हो । उद्घाटन समारोहमा उहाँले थारु समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो ।

नमुना भूह्याँर थान संरक्षण जबरपुरका अध्यक्ष रामशरण चौधरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यता तथा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरी र तुलसीपुुर उपमहानगरपालिकाका नगर उपप्रमुख स्यानी चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषद बुटवलका निर्देशक रामु जोशी, थारु कल्याणकारी सभाका केन्द्रिय कोषाध्यक्ष चुर्ण बहादुर चौधरी, थारु कल्याणकारी सभाका केन्द्रिय सदस्य राम बहादुर दहित, थारु वुद्धिजीवी डा. जर्मन चौधरी, तुलसीपुर उपमहानगरपालिका–१२ का अध्यक्ष खुशीराम चौधरी, १५ का अध्यक्ष लक्ष्मण चौधरी, दंगिशरण गाँउपालिका–४ का अध्यक्ष सुकलाल चौधरी, थारु कल्याणकारीणी सभा दाङ देउखरका अध्यक्ष अशोक कुमार चौधरी, थारु कल्याणकारीणी सभा क्षेत्र नम्बर ३ का अध्यक्ष मोहन धरकटुवा थारु लगाएतकाले थारु समुदायभित्र सांस्कृतिक चेतना अभिवृद्धि गर्न कार्यक्रमले भूमिका खेलेको बताउनुभयो । साथै नयाँ पुस्तालाई आफ्नै भाषा र संस्कृतिप्रति आकर्षित गर्न यस्ता कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

कार्यक्रममा थारु मौलिक मघौटा नाच, धुमरु गीत, परम्परागत परिकार तथा थारु भेषभूषामा सबै जना सहभागी भएका छन् ।

यसैबिच कार्यक्रममा डा. पर्शु राम चौधरी, महटवा महासंघ तुलसीपुर नगर समितिका अध्यक्ष बुझौना थारु, पत्रकार सुरक्षा चौधरी, देशवन्ध्या गुरुवा लिलामणी चौधरी, भिखु चौधरी र जुठिलाल चौधरीलाई सम्मान गरिएको थियो ।

थारु स्वास्थ्यकर्मी समाज दाङका अध्यक्ष जीवराज चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नमुना भूह्याँर थान संरक्षण समिति जबरपुरका उपाध्यक्ष नारायण चौधरीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस