२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरका १३ वर्षीय बालक एक सातादेखि सम्पर्कविहीन


दाङ । तुलसीपुरका एक बालक एक सातादेखि सम्पर्कविहीन भएका छन् । तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेका साजन बुढाका १३ वर्षीय छोरा यमबहादुर बुढा एक सातादेखि सम्पर्कविहीन भएको पारिवारिक स्रोतले जनाएको छ ।

यमबहादुर पुस २० गते आइतबार दिउँसो करिब ३ बजेतिर गोल खेल्ने चौरमा फुटबल खेल्न जान्छु भन्दै घरबाट निस्किएका थिए । तर त्यसपछि उनी घर नफर्किएको परिवारले जनाएको छ ।

यमबहादुर घर नफर्किएपछि आफन्त तथा साथीभाइकोमा खोजी गर्दा पनि फेला नपरेको उनका फुवाजु जागेश्वर खड्काले जानकारी दिनुभयो । यमबहादुर जनश्रम माध्यमिक विद्यालय, खाद्रेमा कक्षा ६ मा अध्ययनरत रहेको उहाँले जानकारी दिनुभयो ।

परिवारले हिजो शनिबार मात्रै यमबहादुर हराएको निवेदन इलाका प्रहरी कार्यालय तुलसीपुरमा दर्ता गराएको जनाएको छ । आफन्त, छिमेकी तथा चिनजानका व्यक्तिहरूसँग फोनमार्फत जानकारी लिँदा पनि हालसम्म कुनै सूचना नपाएको परिवारले जनाएको छ ।

यमबहादुरलाई देख्नुहुने वा उनको बारेमा कुनै जानकारी पाउनुहुने महानुभावले नजिकैको प्रहरी कार्यालय वा परिवारलाई जानकारी गराइदिन परिवारले आग्रह गरेको छ । जानकारीका लागि ९८६८६३००७३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस