२०८२ फाल्गुन २६ गते मङ्गलवार

रुकुम पश्चिममा श्रीमानद्वारा श्रीमतीको हत्या


रुकुम पश्चिम । रुकुम पश्चिममा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाँउपालिका–१ का ७४ वर्षका गणेशबहादुर कामिले ६५ वर्षका श्रीमती पम्फा कामीको हत्या गरेको प्रहरीले जनाएको छ ।

गणेशले श्रीमती पम्फाको टाउको र हातमा सनासोले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको हो ।

कार्यालयका सूचना अधिकारी प्रहरी निरिक्षक हरिप्रसाद पुनका अनुसार पम्फालाई उपचारका लागि नेपालगंज लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । गणेशले श्रीमती पम्फालाई टाउको र हातमा सनाटोले हानेर घाइते बनाएपछि हिजो शुक्रबार हपरान्ह साढे ४ बजेतिर बुहारी सिर्जना विकले उपचारका लागि जिल्ला अस्पताल सल्ले लगेको उहाँले बताउनुभयो ।

जिल्ला अस्पतालबाट थप उपचारका लागि हिजो शुक्रबार बेलुकी साढे ७ बजेतिर नेपालगंज पठाएकोमा साढे ८ बजेतिर बाटोमा मृत्यु भएको प्रहरी निरिक्षक पुनले जानकारी दिनुभयो ।

गणेशले मादक पदार्थ सेवन गरी सामान्य विवादका कारण आफ्नै श्रीमती पम्फालाई कुटपिट गरेको उहाँको भनाई छ । उहाँका अनुसार गणेशलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस