दाङ । दाङको तुलसीपुरका दुग्ध उत्पादक किसानले पालेका सुत्केरी पशुका लागि आवश्यक पोषण आहारा वितरण गरिएको छ । सुत्केरी पशुहरुको पोषणमा फाइदा पुर्याउने उद्देश्यले तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले पोषण किट वितरण गरेको हो ।
गाई, भैसी सुत्केरी भएपछि सन्तुलित आहारा खुवाउनुपर्ने भएकाले किसानलाई सहजताको लागि पोषण किट वितरण गरिएको पशु सेवा शाखाका प्रमुख डा. मनोज वलीले बताउनुभयो ।
सुत्केरी अवस्थामा सन्तुलित आहारा खान नपाउँदा पशुले दुध उत्पादन बढ्न नसक्ने र बाली नलाग्ने जस्ता समस्या पनि देखिन सक्ने भएकाले सन्तुलित पशु आहाराको आवश्यकता पर्ने डा. वलीले बताउनुभयो ।

व्यावसायिकरुपमा पशुपालन नगरेको किसानले पनि पोषण किट पाएको उहाँले बताउनुभयो । पोषण किट अन्तर्गत प्रति दुहुने गाई वा भैसी बराबर ५० केजी दाना, २ केजी खनिज मिश्रण, आधा लिटर लिभर टोनिक वितरण गरिएको हो । बुधबारमात्रै ७० वटा दुहुनो गाई र भैसीका लागि पोषण किट वितरण गरिएको पशु सेवा शाखाले जनाएको छ ।
शाखा प्रमुख वलीले एउटा गाई वा भैसीले वर्षमा एक पटकमात्र पोषण किट पाउने बताउनुभयो । गाई वा भैसी दुहुनो भइसकेपछि किसानले १४ दिनभित्र पशु सेवा शाखामा सम्पर्क गर्नुपर्ने डा. वलीले बताउनुभयो ।
किसानलाई पशु सुत्केरी भत्ताको साटो दाना दिने अभ्यासको शुरुवात गरिएको नगरप्रमुख टिकाराम खड्काले बताउनुभयो । किसानलाई पैसा दिँदा पारदर्शी नहुने भएकाले प्रभावकारी कार्यान्वयनका लागि पोषण किट वितरण गरिएको उहाँले बताउनुभयो । उहाँले बिरामी पशुको उपचारको अवधारणा पनि उपमहागरपालिकाले अघि सारेकोले केहि दिनभित्र कार्यान्वयन गर्ने बताउनुभयो ।
यस्तै प्रमुख प्रशासकिय अधिकृत केशवराज पार्देले सुत्केरी पशुलाई पोषण किट आर्थिक हिसावले कम देखिएपनि उपमहानगरपालिकाले किसानको समस्याप्रति जिम्मेवारी बोध गरेको बताउनुभयो । उहाँले किसानको आवश्यकता र माग बमोजिम उपमहानगरपालिकाले किसानमैत्री कार्यक्रम बनाउने पनि बताउनुभयो ।
किसान नरबहादुर ढकालले सुत्केरी पशु किट वितरण कार्यक्रमले आगामी दिनमा पनि निरन्तरता पाउनुपर्ने बताउनुभयो । उहाँले आवश्यक ज्ञानको अभावमा किसानले धेरै समस्या भोग्नुपरेको भन्दै उपमहानगरपालिकाले पशु प्राविधिकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो ।
उपमहानगरपालिकाका कृषि विकास समितिका संयोजक लक्ष्मण चौधरीको अध्यक्षता तथा नगरप्रमुख खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजीकरण पशु शाखाका कर्मचारी सुनिता शर्माले गर्नुभएको हो ।
















