२०८३ बैशाख २७ गते आइतवार

आज राष्ट्रिय सभा सदस्य निर्वाचन

दाङ। राष्ट्रिय सभा सदस्यका लागि आज मतदान हुँदै छ । आगामी फागुन २० गते पदावधि समाप्त हुने सदस्य पदका लागि माघ ११ गते मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार १७ सिटका लागि निर्वाचन हुन लागेको छ । सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान केन्द्र तोकिएको छ । आयोगका अनुसार बिहान ८ बजेदेखि मतदान हुने छ ।

आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय विराटनगरमा मतदान केन्द्र तोकेको छ । मधेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर, बागमती प्रदेशका लागि भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान केन्द्र तोकेको हो ।

त्यसै गरी गण्डकी प्रदेशको प्रदेश निर्वाचन कार्यालयपरिसर पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र घोराही, कर्णाली प्रदेशको प्रदेश निर्वाचन कार्यालय वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशको प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान केन्द्र तोकिएको हो ।

निर्वाचनमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दर्ता गराएका छन्‌ ।

आयोगका अनुसार सात वटै प्रदेशमा गरी कुल २०३८ मतदाता छन् तर कतिपय स्थानीय तहका पदाधिकारीले राजीनामा गरेर आमनिर्वाचनमा भाग लिन लाग्दा रिक्त हुन गएको पदाधिकारीको नामसमेत मतदाता नामावलीमा समेटिएका छन्‌ ।

राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । सभाका सदस्यको पदावधि भने छ वर्षको हुन्छ । सो व्यवस्थाबमोजिम २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो ॥

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस