२०८३ भाद्र ८ गते सोमवार

लुम्बिनीका मूख्यमन्त्रीले आज विश्वासको मत लिने

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रदेश सभा सचिवालयका अनुसार आज दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ ।

सत्ता साझेदार नेपाली कांग्रेसले गत साउन १२ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक प्रावधान अनुसार मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

सम्भावित कार्यसूची अनुसार बैठकको सुरुमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रहरू सभामुखले पढेर सुनाउनुहुनेछ । त्यसपछि मुख्यमन्त्री आचार्यले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्नुहुनेछ ।

प्रस्तावमाथि सांसदहरूबिच छलफल हुने र छलफलमा उठेका प्रश्नको मुख्यमन्त्रीले जवाफ दिएपछि प्रस्तावलाई निर्णयार्थ पेस गरिनेछ । ८३ सदस्यीय लुम्बिनी प्रदेश सभामा सरकार कायम राख्नका लागि ४२ जना सांसदको समर्थन आवश्यक पर्दछ ।

मुख्यमन्त्री आचार्यले भने सत्ता पक्षीय गठबन्धनका तर्फबाट आवश्यक बहुमतभन्दा बढी सांसदहरूको समर्थन प्राप्त हुने दाबी गर्नुभएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस