दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा सदस्य निर्वाचन आज घोराहीमा हुँदैछ । घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान शुरु भएको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।
मतदानका लागि उम्मेदवारलगायत विभिन्न जिल्लाका पालिका प्रमुख, उपप्रमुख र प्रदेश सांसद्हरु घोराही आएका छन् । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट आठ जना प्रतिष्पर्धामा रहेका छन् ।
कांग्रेस–एमाले गठबन्धनबाट तीन, नेपाली कम्युनिष्ट पार्टीबाट तीन र राष्ट्रिय जनमोर्चाबाट दुई जना चुनावी मैदानमा छन् । लुम्बिनी प्रदेशबाट महिला, अपांगता/अल्पसंख्यक र अन्य गरी तीन जना सदस्य निर्वाचित हुँदैछन् ।
लुम्बिनीमा कांग्रेस र एमालेले तालमेल गरी उम्मेद्वारी दर्ता गराएका छन् । एमालेको भागमा महिला कोटा परेको छ भने काँग्रेसलाई अपांग र अन्य समूहबाट परेको छ । एमालेबाट गुल्मीको मदाने गाउँपालिका–४ की रामकुमारी झाँक्रीको उम्मेदवारी परेको छ ।
कांग्रेसबाट अपांग कोटामा लमही नगरपालिक–३, दाङका बासुदेव घिमिरे र अन्य कोटामा रेसुङ्गा नगरपालिका–३ गुल्मीका चन्द्र बहादुर केसी चुनावी मैदानमा हुनुहुन्छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीले पनि तीनवटै सदस्यमा मनोनयन दर्ता गराएको छ । महिला कोटाबाट बराङ्दी गाउँपालिका–१ पाल्पाकी दुर्गा कुमारी भण्डारी, अपांगमा बैजनाथ गाउँपालिका–५ बाँकेका सर्जन बिक र अन्यमा बर्दघाट नगरपालिका–१४ नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का बृहस्पति अधिकारी चुनावी मैदानमा रहनुभएको छ ।
राष्ट्रिय जनमोर्चाले महिला र अन्य कोटामा उम्मेदवारी दर्ता गरेको छ । महिलामा प्युठान नगरपालिका–८ प्युठानकी पद्मा पण्डित र अन्यमा मल्लरानी गाउँपालिका–२, प्युठानका बोम बहादुर खत्रीले मनोनयन दर्ता गर्नुभएको छ ।
लुम्बिनीमा एमालेबाट निर्वाचित गोपाल भट्टराई, राष्ट्रियसभा उपाध्यक्ष बिमला घिमिरे र तत्कालिन माओवादी केन्द्रका जगप्रसाद शर्माको पदावधि फागुन २० मा सकिँदैछ । लुम्बिनी प्रदेशमा ८७ प्रदेशसभा सदस्य र २ सय १७ स्थानीय तहका प्रमुख उपप्रमुख गरी ३ सय ४ मतदाता रहेको निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितले बताउनुभयो ।
राष्ट्रिय सभाका सदस्यमध्ये प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको पदावधि समाप्त हुन्छ । सभाका सदस्यको पदावधि भने छ वर्षको हुन्छ । सो व्यवस्थाबमोजिम २०७६ फागुनमा निर्वाचित एक तिहाइ सदस्यको पद रिक्त हुन लागेको हो ।














