दाङ । तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुद्देश्यीय सहकारी संस्था लिमिटेडले आज १८ औं वार्षिक उत्सब मनाएको छ । संस्थाले विभिन्न कार्यक्रम गरेर १८ औँ वार्षिक उत्सव मनाएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेलकोे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
प्रमुख अतिथी पोखरेलले संस्थाले विभिन्न विभाग सञ्चालन गर्दै हालसम्म ११२ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो । हाम्रो पहुँच सहकारीले सहकारीको सिद्धान्तअनुसार आफ्ना गतिविधि सञ्चालन गरिरहेको र व्यवस्थापन पक्ष पनि सुदृढ बनाएकोे उल्लेख गर्नुभयो ।
संस्थाले आफ्नै विद्यालय सञ्चालन गरी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताउनुभयो । उहाँले विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्न सफल भएकोमा खुसी व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष भण्डारीले आर्थिक, सामाजिक र सांस्कृतिक रुपान्तरणको लागि समाजका निम्न आय भएका वर्ग तथा समुदायहरुलाई एकतावद्ध गरि सिंगो सामाजिक विकासका लागि केहि गर्ने उद्देश्य राखेर सहकारी आजभन्दा १८ वर्षअघि २०६४ सालमा स्थापना गरिएको बताउनुभयो ।
नेपालमै सहकारीका माध्यमबाट आर्थिक विकास खोज्न हाम्रो पहुँच बहुउद्देश्यीय सहकारीको स्थापना गरिएको अध्यक्ष भण्डारीले बताउनुभयो । संस्थाले सदस्यहरुलाई सहकारीको माध्यमबाट उद्यमशिल बनाई स्वावलम्बी तथा आत्मनिर्भर बनाउँदै गरिबीको अन्त्य गर्ने अभियानमा लागेको अध्यक्ष भण्डारीले बताउनुभयो । संस्थाले ११२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने एक हजारभन्दा बढी व्यक्तिलाई स्वरोजगारीमा जोड्न सफल भएको छ । संस्थामा हालसम्म ४ हजार ८९० जना सेयर सदस्य आबद्ध रहेका छन् ।
संस्थाका अध्यक्ष भण्डारीले संस्थाले कुल वासलात ४० करोड ३९ लाख ८९ हजार १७७ रुपैयाँ पुगेको बताउनुभयो । आर्थिक वर्ष २०८१/८२ मा संस्थाले १ करोड ५२ लाख ९ सय १० रुपैयाँ खुद बचत गर्न सफल भएको थियो । संस्थाले बचत तथा ऋण विभागमार्फत सहुलियत, सरल र सुलभ रूपमा कर्जा प्रवाह गर्दै आएको अध्यक्ष भण्डारीले बताउनुभयो । यसबाट सेयर सदस्यहरूलाई स्वावलम्बी बनाउने लक्ष्य लिइएको उहाँको भनाइ छ ।

२०८२ सालको अन्त्यसम्म सदस्य संख्या ५ हजारभन्दा बढी पुर्याउने र वासलात ४७ करोड ३५ लाख ३८ हजार ५४१ रुपैयाँ पुर्याउने लक्ष्य लिइएको छ । चालु वर्षमा कुल कारोबार १ अर्ब १३ करोड ७७ लाख ६६ हजार २१२ रुपैयाँ पुर्याउने लक्ष्य निर्धारण गरिएको छ ।
कार्यक्रममा संस्थाका सल्लाहकार भरत भण्डारीले २५ जना बाट सुरु भएको सहकारीमा अहिले चार हजार बढी सदस्य आवद्ध रहेकोमा खुशी व्यक्त गर्नुभयो । आगामी दिनहरुमा सदस्य संख्या र रोजगारीको अवसर बढाउन अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सदस्यहरुको साथ र सहयोगले नै अहिले हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था देशमै उत्कृष्ट बन्न सफल भएको बताउनुभयो ।
कार्यक्रममा जिल्ला सहकारी संघ लिमिटेडका संचालक मणिकर्णा न्यौपाने, नारी जागरण बहुउेश्यीय सहकारी संस्थाका व्यवस्थापक नुुमा भण्डारी,प्याव्सन दाङ तुलसीपुरका अध्यक्ष डम्बर डाँगी, कृर्षि सामाग्री कम्पनि तुलसीपुरका प्रमुख लिलाधर वली, नेपाल आयाल निगम तुलसीपुरका प्रमुख बिनोद बस्नेत लगायतकाले सहकारीमा गरिएको लगानी सुरक्षित गर्न सदस्य पनि चनाखो बन्नुपर्ने बताएका हुन् ।

त्यस अवसरमा हाम्रो पहुँच माविमा अध्ययनरत विद्यार्थीले विज्ञान सामग्री प्रर्दशनी गरेका छन् भने विद्यार्थीले विभिन्न व्यवसाय समेत संचालन गरेका थिए । विद्यार्थीले चटपटदेखि चाउमिन, मम लगायतका व्यापार गरेका छन् । यस्तै गित, नृत्य, लगायतका प्रस्तुत गरिएको छ ।

कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारी, हाम्रो पहुँच सेकेन्डरी स्कुलका प्रधानाध्यापक डिआर भण्डारी, सहायक प्रधानाध्यापक शिव पुनले गर्नुभएको हो ।














