दाङ । दाङसहित पश्चिम नेपालमा वर्षा गराउने प्रणाली फेरि सक्रिय हुन थालेको छ । अहिले पश्चिम नेपालमा पश्चिमी न्यून चापीय प्रणाली केही बलियो बनेर मौसम बदली गराउन लागेको छ ।
पश्चिमी क्षेत्रमा वर्षा र हिमपात भएको एकसातापछि पुनः वर्षा गराउने प्रणाली सक्रिय हुन लागेको हो ।
आजदेखि पश्चिमक्षेत्रमा हल्का असर देखिन थालेको छ । उक्त प्रणाली भोलि मङ्गलबार मध्यनेपालसम्म फैलिने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिनुभयो ।
पश्चिम नेपाल चिसो भइसकेको र हिउँ परिरहेको अवस्थामा अबको प्रणालीले पनि मध्यमसम्म वर्षा तथा हिमपात गराउने मौसमविद् अधिकारीले बताउनुभयो ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात र अन्य क्षेत्रमा हल्कादेखि मध्यमसम्म वर्षा गराउनेछ । दाङमा मंगलबारसम्म छिटपुटसम्म वर्षा हुन सक्नेछ । आव तराई भूभागका केही ठाउँमा हुस्सुकुहिरो रहने तथा देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ ।














