२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुर कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच

दाङ । तुलसीपुर कारागारका कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको छ । कारागार परिसरमै बुधबार बिहान राप्ती लाइफ केयर अस्पताल, तुलसीपुरको चिकित्सकसहितको टोलीले कैदीबन्दीको स्वास्थ्य जाँच गरेको हो ।

कारागारका कुल २४८ जना कैदीबन्दीको स्वास्थ्य जाँच गरिएको राप्ती लाइफ केयर अस्पतालका एडमिनिष्ट्रेसन इन्चार्ज तुलराज बरालले जानकारी दिनुभयो । स्वास्थ्य जाँच गराउनेमा २०९ जना पुरुष र ३९ जना महिला रहेका छन् । कारागार प्रशासनको आयोजनामा सो स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

जाँचका क्रममा रगत, सुगर र रक्तचाप लगायतको परीक्षण गरिएको थियो । स्वास्थ्यमा समस्या देखिएका कैदीबन्दीलाई अस्पतालका तर्फबाट निःशुल्क औषधि समेत वितरण गरिएको छ ।

स्वास्थ्य जाँच टोलीमा डा. प्रविण वली, नर्सहरू पूर्णिमा पाठक, ऐश्वर्या डाँगी, प्रियंका वली , समीक्षा रजौरे, बिजनेस डेभलपमेन्ट म्यानेजर पंकज चौधरी, फार्मेसी इन्चार्ज विकास केसी र अस्पताल प्रशासन प्रमुख तुलराज बराल सहभागी हुनुहुन्थ्यो ।

राप्ती लाइफ केयर अस्पतालले विगतदेखि नै कैदीबन्दीको स्वास्थ्य जाँचका साथै ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालका कार्यकारी अध्यक्ष हरिप्रसाद रिजालले बताउनुभयो । उहाँले नागरिकको घरदैलोमै पुगेर सेवा प्रदान गर्दै अस्पतालले सामाजिक उत्तरदायित्व पूरा गरिरहेको उल्लेख गर्नुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस