दाङ । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले अहिले ७० हजार बढी जनसंख्यालाई खानेपानीको व्यवस्थापन गरिरहेको छ । संस्थाले करिब १२ हजार धारामार्फत ७० हजार बढी जनसंख्यालाई खानेपानीको सहज व्यवस्थापन गरिरहेको हो ।
संस्थाले वितरण गर्ने पानी तुलसीपुर बजारदेखि उत्तरतर्फको क्षेत्र मूलकोट, राम्री, बाख्रे, दगैरा, सातताले, छरछरे लगायतका मुहानबाट आउने गरेको छ ।

त्यसबाट ल्याएको पानीलाई खानेपानी शुद्धिकरणका विभिन्न विधिबाट शुद्धिकरण गरेर उपभोक्ताको घरसम्म पानी पुर्याउने गरिएको तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्माले बताउनुभयो ।
उहाँले उपभोक्तालाई शुद्ध पानी पुर्याउने विषयमा आफुहरु जिम्मेवार ढंगले प्रस्तुत भएकोसमेत बताउनुभयो । उपभोक्तालाई शुद्ध पानी पुर्याउनका लागि मुहान क्षेत्रबाट पानी ल्याएर विभिन्न शुद्धिकरण विधि अपनाएको र पानी फिल्टरीङ क्षेत्रमा पनि सरसफाईका लागि छुटै कर्मचारी खटाएको उहाँले बताउनुभयो ।

यस्तै संस्थाका सचिव भुवन भुषालले मुहान क्षेत्रको सरसफाईमा खानेपानी संस्था अत्यन्तै जिम्मेवार रहेको बताउनुभयो । ‘मुहान क्षेत्रबाट सिधै उपभोक्ताको धारामा जाँदैन ।’ उहाँले भन्नुभयो–‘मुहानबाट आएको पानीलाई विभिन्न प्रविधिमार्फत फिल्टरिङ गर्ने गरिएको छ भने पानीमा हुन सक्ने सुक्ष्म जीव मार्नका लागि क्लोरिनको समेत प्रयोग गर्ने गरिएको छ ।’
उहाँले केहि सामाजिक संजालमा आएको जस्तो मुहान क्षेत्रमा पानी धमिलो नभएको समेत बताउनुभयो । शनिबार मुहान क्षेत्रको अवलोकनपछि सचिव भुषालले खानेपानीको मुहान क्षेत्रभन्दा केहि तलतिर स्तरोन्नतीको क्रममा राप्ती राजमार्ग छेउमा रहेको क्रसरबाट बगेको धमिलो पानी बगेको तर मुहान क्षेत्रको पानी सफा रहेको बताउनुभयो । ‘हामीले शनिबार खानेपानीको मुहान क्षेत्रमा अवलोकन पनि गरेका छौँ ।’ उहाँले भन्नुभयो–‘अवलोकन गर्दा कुनै पनि मुहानमा धमिलो पानी छैन्, उपभोक्ताले पनि धमिलो पानी आएको छ भनेर भन्नुभएको छैन् ।’

मुहान क्षेत्रबाट आएको पानीलाई तुलसीपुर–४ रक्षाचौर क्षेत्रमा फिल्टरिङ हुने गरेको संस्थाका कोषाध्यक्ष भोला थापाले बताउनुभयो । रक्षाचौर क्षेत्रमा स्लो स्यान्ड प्रविधिमार्फत पानीको फिल्टरिङ भइरहेको छ । यो प्रविधि भनेको पानीलाई एउटा ठूलो ट्याङ्कीमा केही समय स्थिर राखिन्छ । भारी भएका कणहरू विस्तारै ट्याङ्कीको फेदमा थुप्रिन्छन् । अनि माथिल्लो भागको सफा पानी अर्को चरणमा पठाउने गरिन्छ ।














