तुलसीपुर । दाङको तुलसीपुर–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले शेयर सदस्यहरुलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको छ ।
आज बुधबार एक कार्यक्रमको आयोजना गरी तालिम प्रदान गरेको हो । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत डिआर भण्डारीको अध्यक्षतामा तालिम प्रदान गरिएको हो ।

संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले तालिममा सहभागीहरूलाई आम्दानी, खर्च व्यवस्थापन, बचत र लगानीका विषयमा प्रशिक्षण प्रशिक्षण गर्नु भएको हो । सदस्यहरुलाई आर्थिक रुपमा कसरी सक्षम हुने, बचत कसरी गर्ने, बचतका फाईदा,व्यक्तिगत बजेट व्यवस्थापन, लगानी रणनीतिहरू र ऋण व्यवस्थापनका बारेमा जानकारी गराउनुभयो ।

सहकारी क्षेत्रका सदस्यहरूलाई वित्तीय साक्षरता महत्वपूर्ण रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । उहाँले आम्दानीका स्रोत विस्तार, अनावश्यक खर्च नियन्त्रण र नियमित बचतको बानी विकास गर्नुपर्नेमा जोड दिनुभयो । स्वरोजगारी सिर्जना, साना तथा घरेलु उद्यम सञ्चालन, कृषि तथा व्यवसायिक क्षेत्रमार्फत आम्दानी बढाउन सकिने बताउनुभयो ।

साथै सहकारीमार्फत उपलब्ध हुने ऋण सुविधालाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सदस्यहरुलाई आग्रह पनि गर्नुभयो । भण्डारीले वित्तीय अनुशासन, पारदर्शिता र दीर्घकालीन योजना निर्माण, आय–व्ययको लेखाजोखा राख्ने बानी बसाल्न सुझाव दिनुभयो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सदस्यहरूको आर्थिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमलाई निरन्तर सञ्चालन गरिने बताउनुभयो ।

सहकारीमा अहिले करिब ५ हजार शेयर सदस्य आवद्ध छन् भने ११० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । तालिमको सहजिकरण संस्थाका वचत तथा ऋण विभागका विभागिय प्रमुख रेखा शर्माले गर्नुभएको हो ।














