दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका–७ झुमरेमा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाले शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने उद्देश्यसहित ‘एकीकृत शत्रुजीव व्यवस्थापन (आई.पि.एम.) कृषक पाठशाला’ कार्यक्रम सुरु गरेको छ ।
आज शनिबार एक कार्यक्रमको आयोजना गरी तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट कार्यक्रम सुरु गरेको हो । सहकारीले कृषि उत्पादनलाई वैज्ञानिक, सुरक्षित र दिगो बनाउँदै सदस्यहरुको आम्दानी वृद्धि गर्ने लक्ष्यसहित तीन महिनासम्म सम्बन्धित कृषककै खेतबारी (फिल्ड) मा पुगेर निःशुल्क पाठशाला सञ्चालन गर्ने संस्थाका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

कार्यक्रमले शेयर सदस्यहरुको जीवनस्तर उकास्दै स्वरोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले सदस्यहरुलाई क्षमताशील बनाउँदै आत्मनिर्भरता र उत्पादनमुखी कार्यमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत डीआर भण्डारीले सहकारीले बचत तथा ऋण सेवामात्र नभई सदस्यहरुको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो । उहाँले कृषकलाई रासायनिक विषादीको प्रयोग घटाउँदै जैविक तथा वातावरणमैत्री विधिबाट खेती गर्न सक्षम बनाउने उद्देश्यले आइपिएम पाठशाला सञ्चालन गर्ने संस्थाको योजना रहेको बताउनुभयो ।

उहाँका अनुसार संस्थाको लगानीमा सञ्चालन भएको उक्त पाठशाला कृषककै खेतबारीमा पुगेर निःशुल्क रूपमा सञ्चालन गरिनेछ । तीन महिनासम्म कृषिविज्ञले प्रत्यक्ष रूपमा प्रशिक्षण दिने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई संस्थामा आबद्ध सम्पूर्ण कृषक सदस्यहरूसम्म विस्तार गर्ने लक्ष्य रहेको बताउँदै कृषक शेयर सदस्यहरुको मागअनुसार आगामी दिनमा समेत निरन्तरता योजना रहेको बताउनुभयो । उहाँका अनुसार राम्री क्षेत्रका मात्रै करिब एकसय जना कृषक सदस्यहरू यस कार्यक्रमबाट प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् ।
कार्यक्रममा संस्थाका सचिव जीवराज अधिकारी, कृषि तथा मार्ट उपसमितिका सदस्य रुद्रमणि पौडेलले कृषकहरुलाई प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा बालीमा लाग्ने रोग तथा कीराको पहिचान, नियन्त्रणका वैज्ञानिक उपाय, रासायनिक विषादीको प्रयोग न्यूनीकरण, उत्पादन लागत घटाउने प्रविधि तथा दिगो खेती प्रणालीबारे जानकारी गराउनुभएको हो ।

यसैबिच भेलाले कृषक रामकली पुन संयोजक रहने गरी चुडामणि सापकोटा र तिलबहादुर घर्तीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिले कार्यक्रम सञ्चालन, समन्वय र अनुगमनको जिम्मेवारी सम्हाल्ने जनाइएको छ ।
सहकारीले बचत तथा ऋण सेवासँगै सदस्यहरूको सीप विकास, उत्पादन वृद्धि र आयआर्जनमा टेवा पुग्ने कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको छ । कार्यक्रमको सहजिकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले गर्नुभएको हो ।















