दाङ । कृषिप्रधान देशमा धानचामल आयात बर्सेनि बढ्दो क्रममा छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ७ महिना (साउनदेखि माघसम्म) मा नेपालले २५ अर्ब ४८ करोड ५८ लाख रुपैयाँ बराबरको धानचामल आयात गरेको हो ।
गत वर्षको सोही अवधिमा यस्तो आयात २५ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबर थियो । समग्र आयात रकममा सामान्य वृद्धि देखिए पनि नेपालमा धानको सट्टा विदेशबाट सिधै तयारी चामल भित्रिने क्रम भने यस वर्ष निकै बढेको तथ्यांकले देखाएको छ ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष धान आयात घटेको छ भने चामल आयात ह्वात्तै बढेको छ । गत वर्ष सोही अवधिमा १४ अर्ब ५१ करोड रुपैयाँको ३ लाख ८१ हजार ६ सय २२ टन धान आयात भएकोमा चालु वर्ष ७ महिनामा घटेर १२ अर्ब ७४ करोडको ३ लाख ४८ हजार १ सय ३७ टनमा झरेको छ ।
तर, स्वदेशमै धान कुट्नेभन्दा पनि तयारी चामल ल्याउने प्रवृत्ति बढ्दा चामल आयात बढेको छ । गत वर्ष ६ अर्ब २० करोडको ९२ हजार ७ सय ५१ टन चामल भित्रिएकोमा यस वर्ष ७ अर्ब २४ करोडको १ लाख १३ हजार ७ सय ९३ टन आयात भएको छ ।















