२०८३ बैशाख १६ गते बुधवार

सल्यानमा असिनाले ७० घरपरिवारको हिउँदे बाली नष्ट


सल्यान । सल्यनमा मंगलबार राति परेको असिनाले हिउँदे बाली पूर्णरूपमा नष्ट भएको छ । दार्मा गाउँपालिका–५ का ७० घरपरिवारको हिउँदे बाली गहुँ, गेडागुडी, तोरी, तरकारी र अन्य हिउँदे बाली पूर्णरूपमा नष्ट भएको हो ।

असिना धेरै परेकोले हिउँदे बालीमा क्षति पुगेको वाद्नेका सिता खड्काले बताउनुभयो । केही सेकेन्डमै खेतहरूमा रहेको बाली नष्ट भएको उहाँको भनाई छ । महिनौं मेहनत गरेर रोपेका बाली खानयोग्य नभएको र वर्षभरिको आम्दानी पूर्णरूपमा नष्ट भएको उहाँले बताउनुभयो ।

दार्मा–५ का स्थानीय बासिन्दा र किसानहरू असिनापछि ठूलो आर्थिक क्षतिको सामना गरिरहेका छन् । वडा अध्यक्ष सुदिप केसीका अनुसार वडाका करिब ७० किसानको गहुँबालीमा क्षति पुगेको छ । उहाँले वाद्ने, उतिसेनी, जलजले र ढोलढुगा क्षेत्र सबैभन्दा बढी प्रभावित भएको जानकारी दिनुभयो ।

दार्मा गाउँपालिकाले प्रभावित किसानको बाली क्षतिको अनुगमन गर्ने र आवश्यक परे राहत तथा बीमा सुविधा उपलब्ध गराउने तयारी गरेको छ । स्थानीय प्रशासनले पनि असिनापछि प्रभावित किसानलाई तत्काल राहत उपलब्ध गराउन माग गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस