तुलसीपुर । दाङको तुलसीपुरमा सञ्चालन भइरहेको स्वर्णविन्दु कार्यक्रमप्रति अभिभावकहरूको आकर्षण बढ्दै गएको छ । कार्यक्रम सुरु भएको आज चौथो महिनामा पश्चिम दाङका विभिन्न क्षेत्रसहित बाँकेबाट समेत अभिभावकहरू बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाउन आएका थिए ।
तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा रहेको राप्ती आयुर्वेद चिकित्सालयले आज आइतबार ६ महिनादेखि ५ वर्ष सम्मका चार हजार भन्दा धेरै बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको हो । कार्यक्रम सुरु भएको चौथो महिनामा आइपुग्दा अहिलेसम्मकै उच्च भिड रहेको चिकित्सालयले जनाएको छ ।

गत संसिरमा दुई हजार, पुसमा तीन हजार, माघमा तिन हजार भन्दा धेरै बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको थियो । कार्यक्रम सुरु भएको आज चौथो महिनामा चार हजार ४१३ जना बालबालिकाहरुलाई स्वर्णविन्दु खुवाइएको चिकित्सालयका सूचना अधिकारी डा. कैलाश न्यौपानेले जानकारी दिनुभयो ।
स्वर्णविन्दु खुवाउन आज विहान साढे ४ बजेदेखि पश्चिम दाङका विभिन्न क्षेत्रसहित बाँकेबाट पनि अभिभावकहरु बालबालिका बोकेर लाइनमा बसेका थिए । स्वर्णविन्दु बालबालिकाहरुलाई महिनामा एक पटक मात्र खुवाउने गरिन्छ ।

अव चैत्र १४, बैशाखको १०, जेठको ६ र असारको ३ गते स्वर्णविन्दु खुवाउने कार्यक्रम रहेको डा.न्यौपानेले जानकारी दिनुभयो । चिकित्सालयका सूचना अधिकारी डा. न्यौपानेले स्वर्णविन्दु आयुर्वेदिक खोप रहेको बताउनुभयो ।
यसले बच्चाको स्मरण शक्ति र एकाग्रता बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउने चिकित्सालयका न्यौपानेको भनाई छ । उहाँले स्वर्णविन्दुले बालबालिकाको शारीरिक र मानशिक स्वास्थ्यको वृद्धि विकास गराउनुका साथै पाचन शक्तिलाई मद्दत गर्ने, रोग प्रतीरक्षा प्रणालीलाई मजवुद बनाई संक्रमणबाट जोगाउने बताउनुभयो ।
चिकित्सालय व्यवस्थापन समितिका अध्यक्ष नारायण कुमार आचार्यले कार्यक्रमलाई अझ व्यवस्थित तरिकाले अगाडी लैजाने बताउनुभयो । उहाँले अभिभावकहरुको कार्यक्रमप्रति बढ्दो आकर्षणले आफूहरू उत्साहित भएको बताउँदै सेवा अझ व्यवस्थित, प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।














